काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङ नेपाल आइपुगेका छन् । उनलाई त्रिभुवन विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी छिन् ।
चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रिमण्डलका सदस्यहरु तथा उच्च अधिकारीहरुले विमानस्थल पुगेका छन् ।
एअर चाइनाको विशेष विमानबाट चिनियाँ राष्ट्रपति नेपाल आएका हुन् । उनी दुई दिने भारत भ्रमण सकेर त्यतैबाट नेपाल आइपुगेका हुन् ।
राष्ट्रपति सीलाई विमानस्थलमै सम्मान गारद अर्पण गरिने कार्यक्रम रहेको छ ।
चिनियाँ राष्ट्रपतिको आगमनलाई दृष्टिगत गरी सुरक्षा व्यवस्था अत्यन्तै कडा गरिएको छ । राष्ट्रपतिको विमान त्रिभुवन विमानस्थलमा अवतरण गर्नासाथ सो क्षेत्रका सम्पूर्ण फोन तथा इन्टरनेट संजाल अवरुद्ध गरिएको छ । सुरक्षालाई ध्यानमा राखी यसो गरिएको बताइएको छ ।
विगतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा पनि अवतरण लगत्तै सञ्चार अवरुद्ध गरिएको थियो ।
विमानस्थलबाट सीलाई ताहाचल स्थित सोल्टी होटल लैजाने कार्यक्रम रहेको छ । सीको कारगेड हिँड्ने सडक क्षेत्रमा पनि सञ्चार विच्छेद गरिँदैछ ।










