काठमाडौं, २७ असोज । आफ्नो दुई दिने नेपाल भ्रमणका समयमा मिलाइएको चुस्त सुरक्षा व्यवस्थाको तारिफ गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाली सुरक्षाकर्मीहरुको प्रशंसा गरेका छन् ।
आफ्नो नेपाल भ्रमणका क्रममा सुरक्षा प्रवन्धमा कुनै कमी महसुस नभएको बताउँदै राष्ट्रपति सीले चुस्त सुरक्षा व्यवस्था मिलाउने सबैलाई धन्यवाद दिएका छन् ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले आज (सोमबार) गृह मन्त्रालयमा आयोजित वैठकमा भ्रमण अवधिको सुरक्षा व्यवस्थाप्रति सीले खुशी व्यक्त गर्दै धन्यवाद दिएको जानकारी गराएका छन् ।
गृहमन्त्री थापाले यसले विश्वस्तरमै नेपालको सुरक्षा राम्रो रहेको सन्देश प्रवाह भएको उनले बताए । सरकारले दिएका जिम्मेवारी सुरक्षाकर्मीले धेरै राम्रो ढंगले निभाएको भन्दै निती निर्माणमा संलग्नदेखि सडकमा खटिने सुरक्षाकर्मीसम्मको योगदानले भ्रमण सफल भएको उनको भनाई छ ।
गृहमन्त्री थापाले नेपाल एक चीन नीति प्रति प्रतिवद्ध रहेको दोहाराउँदै आगामी दिनमा पनि नेपालबाट चीन विरोधी कुनै गतिविधि नहोस् भनेर सतर्क रहन सुरक्षा निकायका प्रतिनिधिहरुलाई निर्देशन दिएका छन् ।
चिनियाँ राष्ट्रपति सिको भ्रमण ऐतिहासिक भएको तथा नेपालको आर्थिक, सामाजिक, सास्कृतिक विकासमा यो भ्रमण कोशेढुङ्गा सावित हुने उनको भनाई छ ।
बैठकमा गृह सचिव प्रेमकुमार राईले सफल सुरक्षा व्यवस्थापनका लागि सुरक्षाकर्मीहरुलाई बधाई तथा धन्यवाद दिँदै यो अनुभवले आगामी दिनमा ठूलो सहयोग पुग्ने बताएका छन् ।
बैठकमा सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक पुस्कर कार्की, नेपाली सेनाका उपरथी शशिचन्द्र बहादुर सिंह लगायतको सहभागिता रहेको थियो ।










