हेटौंडा, असोज ३० । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरण सम्बन्धी मुद्दाका पक्ष–विपक्षमा परेका निवेदनमा पाटन उच्च अदालतको हेटौँडा इजलासले जिल्ला अदालतको आदेशलाई सदर गरेको छ । आज दिनभरको सुनुवाइ पछि न्यायधीश चण्डीराज ढकाल र महेन्द्रनाथ उपाध्यायको संयुक्त इजलासले जिल्ला अदालत चितवनको आदेशलाई सदर गरेको हो ।

हेटौँडा इजलासका प्रवक्ता अमृत घिमिरेले लामिछानेसहित तीनजनाले विदेश जानका लागि अनुमति लिनुपर्ने भन्ने आदेश भने उच्च अदालतले बदर गरेको जानकारी दिनुभयो । अन्य विषय भने चितवन जिल्ला अदालतले दिएको आदेशलाई नै उच्च अदालत पाटनको हेटौँडा इजलासले सदर गरेको घिमिरेको भनाई छ ।

सुनुवाइका क्रममा सञ्चारकर्मी लामिछाने हेटौँडा पुगेका थिए । पत्रकार पुडासैनीको आत्महत्या प्रकरणमा चितवन जिल्ला अदालतको आदेशविरुद्ध चर्चित सञ्चारकर्मी लामिछाने र उच्च सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनको हेटौँडा इजलासमा निवेदन दिएका थिए । चितवन जिल्ला अदालतको आदेशमा धरौटीमा छुटेका सञ्चारकर्मी लामिछाने र पत्रकार युवराज कंडेल आफूहरु साधारण तारिखमा रिहा हुनुपर्ने भन्दै जिल्ला अदालत चितवनको आदेशविरुद्ध उच्च अदालत पाटनको हेटौँडा इजलासमा पुगेका थिए ।

त्यस्तै‚ धरौटीमा रिहा भएका लामिछाने र कंडेल तथा साधारण तारेखमा रिहा भएकी रुकु भनिने अस्मिता कार्कीलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने भन्दै चितवन जिल्ला अदालतको आदेशविरुद्ध उच्च सरकारी वकिलको कार्यालयले अर्को निवेदन दिएको थियो । पत्रकार पुडासैनीलाई आत्महत्याको दुरुत्साहन आरोप लागेका लामिछाने पाँच लाख रुपैयाँ र कंडेललाई तीन लाख रुपैयाँ धरौटीमा चितवन जिल्ला अदालतले भदौ ९ गते रिहा गरेको थियो ।

यसअघि लामिछाने र कंडेलको निवेदनमा सुनुवाइ गर्दै पाटन उच्च अदालतको हेटौँडा इजलाशले चितवन जिल्ला अदालतबाट सक्कल फाइल मगाउने आदेश जारी गरेको थियो । तर अदालतले बिदेश जाने अनुमति भने लिन नपर्ने आदेश दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय