मधेसी मोर्चामा आवद्ध पाँच दल एकताका लागि डिल्लीबजार स्थित अमृतभोग पार्टी प्यालेसमा भेला भैरहेका बेला प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली भने बैंककबाट आफ्नो उपचार गरेर स्वदेश फर्किदैँ थिए । स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अमृतभोगको एकतालाई सकारात्मक भन्दै टिप्पणी गरे ।
स्थानीय तहको निर्वाचन हुने कि नहुने भन्ने अन्योल भैरहेका बेला मधेसी मोर्चामा संलग्न पाँच दलको एकताले चुनावी वातावरण बनेको ओलीको भनाई थियो । उनले विमानस्थलबाटै स्थानीय तहको निर्वाचनमा सहभागी हुन मोर्चाका नेतालाई आग्रह समेत गरे ।
लोकतान्त्रिक विधि मान्ने राजनीतिक दलहरुले निर्वाचनमा अत्तो थाप्न नहुने भन्दै उनले मधेसवादी दलहरुबीच एकीकरण हुुनुलाई आफूले सकारात्मक रुपमा लिएको बताए । ‘निर्वाचन सबै राजनीतिक दलहरुले आफना नीति, व्यवहार र काम जनताबाट परीक्षण गर्ने अवसर हो,’ उनले भने, ‘त्यसैले सबैले निर्वाचनमा भाग लिनुपर्छ ।’ उनले बिहीबार मोर्चालाइै खासै आलोचना गरेनन् ।
ओलीले धेरै मुद्धामा गुट देखिने एमालेभित्र मेची महाकाली राष्ट्रिय अभियानमा कुनै गुट नदेखिएको भन्दै त्यहीबाट एकताको सन्देश दिएको दाबी गरे ।
ओलीले आफुले उपाध्यक्ष बामदेव गौतमलाई कार्यबाहक दिएकोमा खुशी व्यक्त गर्न पनि भ्याए । ‘मैले उहाँलाई कार्यवाहकको भूमिका दिएर राम्रो गरेँ,’ उनले भने, ‘उहाँले राम्ररी निर्वाह गर्नुभयो । कार्यबाहक अध्यक्ष वामदेव गौतम हुनुहुन्थो तपाईहरुले पनि उहाँंको भूमिका थाह पाउनु भयो होला । मैले त अपेक्षा गरे अनुसार उहाँंले काम गर्नुभयो ।’










