काठमाडौं । नेपालीको महान चाड दशैंपछि दोस्रो ठूलो पर्व तिहार नजिकिँदैछ । यस वर्ष तिथी अनुसार तिहारको भाइटीका कात्तिक १२ र १३ गते २ दिन परेको छ । सकारले भाइटीकाका लागि १२ गते सार्वजनिक बिदा दिएको छ । नेवारी समुदायले भने भाइटीका अर्थात् किजाः पूजा १३ गते परेको जनाएका छन् । किजाः पूजा १३ गते परे पनि सरकारले १२ गते मात्रै बिदा दिएपछि नेवारी समुदाय सरकारप्रति असन्तुष्ट भएका छन् । नेवारी समुदायले तिहारको बिदा लम्याउन माग गरेका छन् ।
प्रदेश नम्बर तीनका सांसद डा. अजयक्रान्ति शाक्यले भाइटीका अर्थात् किजाः पूजाका लागि सरकारले कात्तिक १३ मा बिदा दिनुपर्ने माग गर्नुभएको छ । पञ्चाङ्ग निर्णायक समितिको निर्णय अनुसार भाइटीका (किजाः पूजा) मा सरकारले कात्तिक १०, ११ र १२ गते बिदा दिने निर्णय गरेपछि सांसद शाक्यले असन्तुष्टि व्यक्त गर्दै कात्तिक ११, १२ र १३ गते नेवार समुदायले क्रमशः लक्ष्मीपूजा, म्हपूजा र भाइटीका (किजाः पूजा) मनाउनु पर्ने हुनाले १३ गते पनि बिदा दिन सरकारसँग आग्रह गर्नुभएको हो ।
‘पञ्चाङ्ग निर्णायक समितिले घडी, पला मिलाएर विजया दशमी, भाइटिकालगायतका चाड–पर्वको साईत निकाल्दा नेवाः समूदायको मौलिक संस्कृति र परम्परालाई मिच्ने गरेको छ,’ उहाँले भन्नुभयो, ‘सरकारले पनि पञ्चाङ्गलाई नै आधार मानेर यस्ता महत्वपूर्ण पर्वहरुमा बिदा दिँदा नेवाः समुदाय थप मारमा पर्ने गरेका छन् ।’
सांसद शाक्यले नेवाः समूदायको परम्परा अनुसार सूर्योदय बेला जुन तिथि हुन्छ उक्त दिन त्यही पर्व मनाउने गरिन्छ । त्यसै परम्परा अनुसार अहिले कात्तिक १२ गते सूर्योदय हुँदा प्रतिपदा तिथि पर्छ त्यसैले उक्त दिन नेपाल संवतको नयाँ वर्ष ११४० मनाउने र बेलुकी म्ह पूजा गर्नुपर्ने हुन्छ र उक्त प्रतिपदाको दिन भाइटीका मान्न सकिँदैन र भोलिपल्ट अर्थात् १३ गतेका दिन सूर्योदय हुँदा दितीया तिथि रहन्छ । त्यही दिन भाइटीका गरिन्छ । नेवार समुदायलाई भाइटीका गर्नका लागि बिदा आवश्यक पर्ने भएकाले त्यसदिन सार्वजनिक बिदा हुनुपर्ने सांसद शाक्यको भनाइ छ ।
‘पञ्चाङ्ग समितिले कात्तिक ९ गते त्रयोदशी अर्थात काग तिहार भनेको छ, त्यस अनुसार १० गते चतुर्दशी अर्थात कुकुर तिहार हुन्छ र ११ गते औँसी पर्छ,’ उहाँले भन्नुभयो, ‘नेवाः समुदायमा पर्व मनाउन घडी–पलाको अर्थ रहन्न । सूर्योदय जुन तिथिमा भयो त्यो पुरा दिन त्यही तिथि पर्ने र त्यसैका आधारमा नेवाः समुदायले चाड–पर्व मान्ने चलन छ ।’
शाक्यले पञ्चाङ्ग समितिको निर्णयलाई आधार मान्ने हो भने चतुर्दशीमा अर्थात् कुकुर पूजाको दिन लक्ष्मीपूजा गर्नुपर्ने बाध्यता हुने र त्यो संभव नहुने प्रष्ट पार्नुभयो । ‘पञ्चाङ्गले ११ गते ९ बजेर ४५ मिनेटसम्म औँसी र १२ गते ७ बजेर ५१ मिनेटसम्म प्रतिपदा तिथि भनेको छ । त्यसपछि १२ गते नै भाइटीका भनेको छ,’ उहाँले भन्नुभयो, ‘पञ्चाङ्ग समितिको निर्णय मान्ने हो भने हाम्रो परम्परा अनुसार नेपाल संवत र म्ह पूजा नै मिल्दैन ।’ पञ्चाङ्ग समितिले निकालेको साइतमा आफ्नो कुनै आपत्ति नभएको पनि जनाएको छ ।
शाक्यका अनुसार नेवाः समुदायको परम्परा अनुसार नेपाल संवतको नयाँ वर्ष ११४० कात्तिक १२ गते सूर्योदयसँगै मनाउने र बेलुका म्ह पूजा गर्ने चलन छ । ‘नेवाः समुदायको परम्परा अनुसार नेपाल संवत नयाँ वर्ष ११४० कात्तिक १२ मा छ । त्यस दिन नेवाः समुदायले दिनभरी धुमधामसँग नेपाल संवत मनाउँछन् र बेलुका म्ह पूजा गर्छन् । तर, पञ्चाङ्ग समितिको साइत अनुसार बिहान म्ह पूजा गर्नुपर्ने हुन्छ । नेवाः समुदायले बिहान म्ह पूजा नै गर्दैनन् ।
पहिलादेखि नै राजा–महाराजाका लागि उनीहरुको अनुकुलतालाई दृष्टिगत गरि टीकाको साइत निकाल्ने गरेको स्मरण गराउँदै शाक्यले नेपालमा गणतन्त्र आइसकेको परिपेक्षमा पञ्चाङ्ग समितिले राजावादी सोच देखाउन त खोजेका होइन भनि आशंका समेत व्यक्त गर्नुभयो । ‘अहिले मुलुकमा राजतन्त्र छैन, गणतन्त्र आएको छ । त्यसैले पञ्चाङ्ग समितिलाई पनि मेरो आग्रह छ राजावादी होइन जनतावादी सोच अनुसार काम गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘विक्रम संवत सूर्यमा र नेपाल संवत चन्द्रमामा आधारित छ । उहाँले समितिको काम टुटफुट भएका तिथि मिलाउनु पर्नेमा झन् तिथिकै विवाद ल्याउने काम गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो । ‘पञ्चाङ्ग समितिसँग नेवाः समुदायले पटक–पटक यो विषयमा ध्यानाकर्षण गराउँदा समितिका केही सदस्यले २०२५–०२६ सालतिर मात्र समिति गठन भएको भन्दै विवाद त्यो भन्दा अघि पनि रहेको भनेर पन्छिने गरेको आरोप लगाउनुभयो । ‘समितिले त्यसरी पन्छिन मिल्दैन । समस्या थियो भनेर नै समस्या समाधान गर्न समिति बनाएको हो नि,’ उहाँले भन्नुभयो, ‘नेपाल सरकारलाई नै दिग्रभ्रमित पारेर समितिले तिथि–मिति नै हराउने काम गर्नुभएन । हामी सजग नहुने हो भने आगामी दिनमा पनि यस्तै समस्या दोहोरिन्छन् ।’
शाक्यले शरीर, मन र वचन शुद्ध होस् भनि नेवाः समुदायले म्ह पुजा मनाउने गरेको भन्दै यो पर्व नेवाः समुदायको मौलिक संस्कार भएको पनि उल्लेख गर्नुभयो । ‘त्यसैले नयाँ वर्ष उत्सवका साथ मनाएपछि हामी बेलुका म्ह पुजा गर्छौ,’ उहाँले भन्नुभयो, ‘त्यसैले हाम्रो परम्परा अनुसार भाइटीका १३ गते दितीया दिनमै हो, हामीलाई त्यो दिन बिदा चाहिन्छ । नेपाल भाषा मंका खलः ले पनि यस सम्बन्धमा गोष्ठी गरेर १३ गतेका दिन भाइटीका गर्ने भनी नेवार समुदायमा आह्वान गरिसकेको तथ्यलाई समेत मध्यनजर गर्दै नेवार समुदायले ११, १२, १३ गते क्रमशः लक्ष्मी पूजा, म्ह पूजा र भाइटीका मनाउने हुँदा सम्पूर्ण नेवार समुदाय भ्रममा नपरीकन सोही बमोजिम आफ्नो चाड मान्न आह्वान गरेको छ, साथै १३ गतेका दिनमा बिदा दिइयोस् भन्ने नेपाल सरकारसँग जोडदार माग गरेको छ ।’ जनता समाचार बाट साभार गरिएको









