काठमाडौं, ३ कार्तिक । बलात्कारको आरोपमा पक्राउ परेको निवर्तमान सभामुख कृष्णबहादुर महराको प्रहरीले बयान लिन शुरु गरेको छ ।
आजैदेखि सरकारी वकिल समक्ष प्रहरीले उनको बयान लिन शुरू गरेको सरकारी वकिल कार्यालयका प्रमुख चन्द्रकान्त खनालले जानकारी दिए । ‘उहाँको बयान लिन शुरू भएको छ’, उनले भने ।
महरामाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले उनी पक्राउ परेको दिनदेखि लागू हुने गरी १३ दिनको समय दिएको थियो । उक्त समय आज सकिंदैछ । यसअघि स्वास्थ्यको कारण देखाउँदै महराले बयान दिन आनाकानी गर्दै आएका थिए ।
आज बयानपछि उनीमाथि अनुसन्धान गर्ने म्याद थप्न सकिने सरकारी वकिल कार्यालय स्रोतले जानकारी दिएको छ । म्याद थप्न फेरि अदालत लैजानु पर्छ । महरामाथि संसदकी कर्मचारी रोशनी शाहीले बलात्कारको आरोप लगाएकी हुन् ।
असोज १२ गते राति आफ्नो काठमाडौं तीनकुनेस्थित डेरामा आएर महराले बलात्कार गर्न खोजेको र नमान्दा कुटपिट गरेको भन्दै प्रहरीमा उजुर गरेकी थिइन् ।
त्यसको भोलिपल्ट यो घटना मिडियामा सार्वजनिक भएको थियो । घटना बाहिर आएपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए । जाहेरी परेपछि प्रहरीले महरालाई असोज १९ गते पक्राउ गरेको हो । बीचमा दशैं बिदा परेकाले महरालाई अदालतबाट म्याद थप गराउनै ९ दिन लागेको थियो ।
पक्राउ परेको ४ दिनपछि स्वास्थ्य गम्भीर भएको भन्दै महरालाई थापाथलिस्थित नर्भिक अस्पतालमा राखिएको थियो । अस्पतालबाटै उनी असोज २८ गते म्याद थपका लागि अदालत गएका थिए। त्यसपछि फर्केर अस्पतालमै आएका थिए । उनलाई उच्च रक्तचाप, अनिद्रा र तनाव भएको अस्पतालले जनाएको थियो ।










