काठमाडौं/ पशुपति आर्यघाटमा घाट सेवाका कर्मचारी आन्दोलित भएका छन् ।घाट सेवा केन्द्रका कर्मचारीहरुले पशुपति आर्यघाटमा शव जलाउनेलगायतका काम बन्द गर्ने चेतावनी दिएका छन् ।
शव जल्न बन्द हुने स्थिति आएपछि पशुपति क्षेत्र विकास कोषले आन्दोलनरत पक्षसँग वार्ता थालेको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले भने, ‘समस्या समाधानको लागि हामी अहिले वार्तामा छौं ।’
सेवा सुविधा वृद्धिको माग राख्दै घाट सेवा केन्द्रका कर्मचारीहरुले आन्दोलन शुरु गरेका हुन् । उनीहरुले बुधबार बिहान ६ बजेदेखि अनिश्चितकालका लागि शवदाह गर्ने, दाउरा बोक्ने, खाडल खन्नेलगायतका सबै कामहरु बन्द गरेको सूचनासहितको कालो ब्यानर आर्यघाट क्षेत्रमा टाँसेका छन् । घाट सेवा केन्द्रका कर्मचारीहरुले काम बन्द गर्ने घोषणा गरे पनि बिहान केही शवहरु जलाएको देखिन्थ्यो ।
हाल विद्युतीय गृहमा शवदाहका लागि दुई वटा मेसिन छन् । दुवै मेसिनको दैनिक २२ वटासम्म शव दाह गर्ने क्षमता छ ।









