उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले एकपछि अर्को गर्दै राष्ट्र र सम्मान र मर्यादामा आँच पुग्ने काम गर्न थालेपछि अहिले उनको सर्वत्र आलोचना सुरु भएको छ ।
वरीयता विवादले मन्त्रिपरिषद् बैठक बहिष्कार गर्दै आइरहेका निधिले संसद्को सम्मान र मर्यादामा समेत ‘अपमानजनक’ व्यवहार प्रदर्शन गरेपछि त्यसको आलोचना भएको हो । उनले बिहीबारको संसद्मा बैठकमा सभामुखको समेत अपमान गरेपछि अहिले प्रमुख प्रतिपक्षी दल एमालेले त उनको खुलेरै आलोचना गरेको छ ।
पूर्व सभामुख सुवास नेम्वाङले त अझ निधिको खुलेरै आलोचना गरेका छन् । सभामुखले तोकेको स्थानमा प्रधानमन्त्रीहरुदेखि मन्त्रीहरु, सत्तापक्ष, प्रतिपक्ष दलका सांसद् बस्नुपर्ने नियम भए पनि गृहमन्त्रीले भने त्यसलाई लत्याएर अपमान गरेको आरोप लगाए । ‘निधिजी मेरो मेरो मित्र हुनुहुन्छ,’ उनले भने, ‘तर, उहाँले संसदमा आजसम्म संसारमा कतै नभएको शैली अपनाएर संसदकै वेइज्जत गर्नुभयो । हामी तिनै गृहमन्त्रीले फेरि हाम्रो सुरक्षा दिनुहुन्छ भनेर भर परेका छौँ ।’
निधिले सभामुखले तोकेको सत्तापक्षको कुर्सीमा नबसी बिहीबारको संसद् बैठक अनौठो शैलीमा भाग लिएपछि उनको शैलीबाट दिक्क बनेका नेम्वाङले भने– ‘हामीलाई त उहाँको शैली देखेर लाज लाग्यो । संसारमा कतै यस्तो मन्त्री देख्नु भएको छ ?’
उनले कुर्सीबाट उठ्दा समेत संसद् अवरोध गरेको ठहरिने परम्परा रहेको उल्लेख गर्दै निधिको शैली आप्पतिजनक रहेको दाबी गरे । ‘मन्त्री सासंद् सबैले सभामुखले तोकेको कुर्सीमा बस्नुपर्छ तर गृहमन्त्री त कुर्सीमा नबसी रोष्टममा पुग्नुभयो केही बोल्नुभयो फेरि कुर्सीमा नबसी बाहिर निस्किनु भयो,’ उनले व्याङ्यात्मक पारामा भने, ‘तर पनि हामीले भन्नु परेको छ । गृहमन्त्रीले हाम्रो सुरक्षा दिनुहुन्छ ।’ निधिले संसद्मा एमालेले सांसद् सत्यनारायण मण्डलको घरमा भएको घटनाबारे प्रश्न उठाएपछि जवाफ दिएका थिए ।
बैठकमा उपस्थित नै नभएका गृहमन्त्रीलाई सभामुखले रोष्टममा बोलाएपछि उनी मुलढोकाबाट भित्र छिरेर रोष्टममा पुगी केही कुरा रोखर फटाफट बाहिरिएका थिए ।
एमालेले अब गुट–उपगुट चिन्दैन
नेम्वाङले वैशाख ३१ मा हुने निर्वाचन कसैले रोकेर रोक्न नसक्ने भन्दै एमाले उक्त निर्वाचनमा एकजुट भएर अघि बढ्ने दाबी गरे । ‘एमालेले अब गुट–उपगुट चिन्दैन । एमाले एक ढिक्का भएर निर्वाचनमा जान्छ,’ उनले भने, ‘निर्वाचन हुन्छ कि हुदैँन भनेर चिन्ता नलिनुहोला । निर्वाचन हुन्छ, गर्नुपर्छ ।’



