काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य परीक्षण तथा उपचार बिहीबार पनि जारी छ। बिहीबार पनि डिस्चार्ज हुने संभावना कम रहेको छ। ग्रान्डी अस्पतालमा रहेका केपी ओलीको बुधबार राति मिर्गौला उपचारका क्रममा संक्रमण भएपछि थप परीक्षण तथा उपचार आवश्यक भएकोले अस्पताल बसाइ लम्बिनसक्ने अस्पताल स्रोतले बताएको छ।
बुधबार बिहान अस्पताल पुगे देखि ओलीलाई अति सघन उपचार कक्ष (आइसियू) मा राखेर परीक्षण तथा उपचार भइरहेको छ। बुधबार राति डायलसिस गरिए पनि अस्पताल र सचिवलयले त्यसको पुष्टि गरेको छैन। अहिलेसम्म प्रधानमन्त्रीको वास्तविक स्वास्थ्य अवस्थाबारे अस्पतालले स्पस्ट जानकारी दिएको छैन। अस्पतालले बुधबार बेलुका जारी गरेको विज्ञप्तीमा प्रधानमन्त्रीको नियमित स्वास्थ्य परीक्षण भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै बुधबार राति वा बिहीबार बिहान डिस्चार्ज हुने उल्लेख गरिएको थियो।
बुधबार राति गरिएको डायलासिस मा संक्रमण भएपछि बिहीबार फेरि डायलासिस गर्ने तयारी छ। तर यसबारे अस्पतालले कुनै आधिकारिक जानकारी दिएको छैन। स्वास्थ्य परीक्षण तथा उपचारको वास्तविक अवस्था बाहिर नल्याउन प्रधानमन्त्रीको निजी सचिवालयले अस्पताललाई समेत दबाब दिएको अस्पतालका एक चिकित्सकले बताए ।
मुलुकको प्रधानमन्त्रीको स्वास्थ्यबारे आम चासो र चिन्ता हुँदा पनि सचिवालय र अस्पतालले वास्तविक सूचना बाहिर नल्याएर गुमाराहमा राखेको प्रतिक्रिया सामाजिक संजालमा समेत व्यापक रुपमा आइरहेको छ। ओलीको स्वास्थ्य स्थिति बुझ्न अस्पताल पुगेका कयौं नेता कार्यकर्ता र शुभचिन्तक पनि सही सूचना नपाउँदा निराश देखिन्छन्। प्रधानमन्त्री ओलीलाई अस्पतालको १४औं तलाको आसियुमा राखिएको छ।
प्रधानमन्त्रीको सचिवालयले ओली अस्पतालबाट बुधबार बेलुका नै बालुवाटार फिर्ता आउने जानकारी दिएको थियो। ओलीको स्वास्थ्यमा समस्या आएपछि उनलाई बुधबार बिहान ९ बजे अस्पताल पुर्याइएको थियो। पछिल्लो समय प्रधानमन्त्री बढी व्यस्त भएकोले धपेडीका कारण ज्वरोसँगै अरु समस्या पनि देखिएको छ। ओलीको रगत, सुगर,रक्तचाप, क्रियटिनिनलगायतको परीक्षण भएको छ।
प्रधानमन्त्री ओलीको १२ वर्ष अगाडि २०६४ सालमा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। मिर्गौला प्रत्यारोपणपछि उनले नियमित औषधि खाँदै आएका छन्। उक्त औषधिका कारण प्रतिरोधात्मक क्षमतामा कमी आउने भएकोले बेलाबेलामा उनको स्वास्थ्यमा समस्या देखिने गरेको छ।
भदौंको पहिलो हप्ता प्रधानमन्त्री ओलीको सिंगापुरमा प्लाज्माफेरेसिस गराइएको थियो। त्यही क्रममा दुई हप्ता ओली सिंगापुरमा रहेका थिए। रेनल बायोप्सीको रिपोर्टपछि ओली थप परीक्षण र उपचारका लागि सिंगापुर गएका थिए। त्यसअघि छाउनीस्थित सैनिक अस्पताल नियमित ल्याब परीक्षणसहित यूएसजी ग्याइडेड ‘रेलन बायोप्सी’गरिएको थियो। अन्नपूर्ण पोस्ट बाट साभार










