भोजपुर / षडानन्द नगरपालिका– ७ गढीगाउँमा भारतीय सहयोगमा निर्माण भएको १५ श्ययाको दिङ्ला अस्पताल सञ्चालनमा नआउँदा जीर्ण बन्न थालेको छ । संरक्षण तथा सञ्चालनको सम्पूर्ण जिम्मा पाएको षडानन्द नगरपालिकाको उदासिनताका कारण उक्त अस्पताल अहिले भत्किन थालेको स्थानीयवासीले बताएका छन् ।

अस्पताल भवन रु दुई करोड ४५ लाख १७ हजार १५८ मा महादेव खिम्ती पोखरे कालिका निर्माण सेवा जेभी काठमाडौँले छ वर्ष लगाएर गत असारमा निर्माण गरेको थियो । संरक्षणको अभावमा अस्पताल भवनको पूर्वपट्टि राखिएको मूल ढोकाको पिल्लर र दक्षिण भागको बाहिरी पर्खाल भत्किएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भारतीय दूतावासका प्रतिनिधि वेद प्रकाशको उपस्थितिमा जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण खड्काले नगरप्रमुख वीरबल राईलाई २०७५ मङ्सिर २८ गते भवनको ताल्चा–साँचो जिम्मा लगाइसकेको नगरपालिकाका सूचना अधिकारी केशव गुरागांईले जानकारी दिए ।

नेपाल सरकारको नीतिअनुसार एक स्थानीय तहमा एक अस्पताल बनाउने लक्ष्यअनुरुप भारतीय सहयोगमा उक्त अस्पताल निर्माण भएकाले अब त्यसलाई चाँडै सञ्चालनमा ल्याइने नगरप्रमुख राईले बताए ।