मोरङ/ उर्लाबारी ८ स्थित बक्राहा नदीमा असार २४ गते आएको बाढीले कटान गर्न थालेपछि स्थानीयले बाँसको प्रकुपाइन बनाएर सन्थाल बस्ती जोगाए । आफ्नै पहलमा गाउँलेले उक्त संरचना बनाए पनि प्रदेशसभा सदस्य र स्थानीय नेताले त्यसवापत सम्बन्धित कार्यालयबाट लाखौं रकम लिएको खुलेको छ ।
कोसी तथा बक्राहा नदी व्यवस्थापन आयोजनाबाट १६ लाख भुक्तानी भएको छ । नेकपाका प्रदेशसभा सदस्य कुलप्रसाद साम्बा, स्थानीय नेकपाका नेता नारायण बस्नेत, कुलप्रसाद चौलागाइँलगायतले साउन पहिलो साता पत्रकार सम्मेलन गरी आफूहरूले स्थानीयको सहयोगमा ५ सय मिटर बाँसको प्रकुपाइन बनाएर कटान रोकेको बताएका थिए । सरकारी निकायले कुनै किसिमको सहयोग नगरेको उनीहरूको भनाइ थियो । तर, पछि उनीहरूले आयोजनाबाट १६ लाख रुपैयाँ भुक्तानी लिएको खुलेको हो । यो समाचार कान्तिपुर दैनिकमा रहेको छ ।










