नेपालमा विभिन्न दिवस मनाइन्छ । मुलुकमा राजतन्त्र कायम रह‘दा राजा रानीको जन्मोत्सव, वैवाहिक र राज्यभिषेशको अवसरलाई विशेष दिवसको अवसरमा मनाइन्थ्यो । तर तत्कालिन राजा ज्ञानेन्द्र शाहले संसद विघटन गरी सम्पूर्ण अधिकार हरण गरेपछि राजतन्त्रात्मक व्यवस्थाको विरोधमा नेपालीहरु एकजुट भई २०६२/०६३ को जनआन्दोलन सुरु गरे ।
वैशाख ११ गते विघटित संसद पुनःस्थापना भएपछि मुलुकबाट सधैँका लागि राजतन्त्रको अन्त्य भयो । सोही दिनको सम्झनामा ज्ञात अज्ञात सम्पूर्ण शहिदहरुको सम्झनामा श्रद्धासुमन् अर्पण गर्दै हरेक बर्ष बैशाख ११ गते लोकतन्त्र दिवस मनाउन थालिएको हो । महान वलिदान र तपस्याको कारण नै हामी १४ औँ लोकतान्त्रिक दिवस मनाउन जुटेका छौं ।
६२/६३ को ऐतिहाँसिक दोश्रो जनआन्दोलन पश्चात बैशाख ११ गते निरंकुश राजतन्त्रले घु“डा टेकेको थियो । जनआन्दोलनको सफलतासंगै युद्धरत तात्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा फर्किएको थियो । आजैका दिन तात्कालिन राजा ज्ञानेन्द्र शाहले विघठित संसद् पुनःस्थापना गर्दै जनताको नासो जनतालाई नै दिए“ भनी शासनसत्ता नेपाली जनतालाई सुम्पिएर नारायणहिटी दरबारबाट बहिर्गमन भएका थिए ।
सशस्त्र युद्धरत तात्कालिन माओवादी र शान्तिपूर्ण सडक आन्दोलनकारी राजनीतिक दलहरुबीच सम्पन्न १२ बु“दे सहमति पश्चात १९ दिने ऐतिहाँसिक जनआन्दोलनको थालनी भएको थियो । त्यहि दिनलाई लोकतन्त्र दिवस भनेर मनाउन थालिएको हो । यस दिनको महत्वलाई आत्मसाथ गर्दै र लोकतन्त्रको रक्षार्थ पैरवी गर्नकालागी सरकारले बैशाख ११ लाई सार्वजनिक विदा दिने गरेको थियो । तर विगत दुई वर्षयता उक्त विदालाई खारेज गरेको छ । नेपाली कांग्रेसका नेता एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले जनआन्दोलन दिवस, लोकतन्त्र दिवस, संविधान दिवस, गणतन्त्र दिवस सबको आ–आफ्नै महत्व छ तर सबै दिवसमा सार्वजनिक विदा दिने प्रचलन कायम गर्दा धेरै सार्वजनीक विदा पर्ने भएकाले लोकतन्त्र दिवसका अवसरमा दिंदै आएको सार्वजनिक विदालाई ‘नेपालको संविधान–२०७२’ जारीगरेको दिनमा समायोजन गरीएको बताउनु भयो ।
६२/६३ को जनआन्दोलनलाई नेपाली राजनीतिको नया“ मोड र अत्यन्त महत्वपूर्ण कडीको रूपमा लिइन्छ । देशलाई समृद्धिको बाटोमा हिँडाउन संविधानसभाको यात्रा यहि आन्दोलनबाट सुरु भएको थियो । फलस्वरुप सबै नेपालीको आकांक्षा संविधान सभाको निर्वाचन सम्पन्न भयो । राजनीतिक दलबीचको खिचातानीले पहिलो संविधान सभाले संविधान निमार्ण गर्ने काम पूरा गर्न सकेन ।
संविधान सभा मार्फत संविधान निमार्ण जारी गर्ने नेपाली जनताका चहानालाई पूरागर्न दोस्रो पटक संविधान सभाको निर्वाचन गरियो । त्यही दोस्रो संविधान सभाले २०७२ असोज ३ गते नेपालको संविधान–२०७२ जारी हुन सफल भयो । त्यत्तीमात्र होइन असोज ३ गते नेपाली इतिहासमा अग्रगामी, युगान्तकारी दिनको शुरुवात भयो । लोकतन्त्र दिवसको मर्म र भावनालाई पनि अक्षुण राख्न गणतन्त्र दिवस मनाउन नै उत्तम हुने नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भूषालले बताउनु भयो ।
लोकतन्त्र दिवस हर्सोल्लासका साथ विभिन्न कार्यक्रम गरी मनाउनु पर्ने हो तर निर्वाचन लोकतन्त्रको जग हो । आम नेपालीको बलिादनबाट प्राप्त लोकतन्त्र संस्थागत गर्नु आजको आवश्यक्ता हो । मुलुक स्थानीय निकाय तहको निर्वाचनमा होमीएकाले सबैले पूर्णप्रतिबद्धताका साथ निर्वाचनमा लागेर सफल बनाउनु नै सच्चा लोकतन्त्र हुने भनाई एमाले पोलिटब्यूरो सदस्य अरुण नेपाल छ ।
नेपाली जनताको बलिदानबाट २०६३ साल बैशाख ११ गते आजकै दिनबाट मुलुकको शासन पद्धतिमा मुख्य पदमा रहनका लागि राज परिवारमै जन्मिन पर्ने क्रमको अन्त्य भयो । लोकतान्त्रिक नेपालमा हामी मध्ये जो कोहीले पनि जनताको चहाना अनुसार राष्ट्रप्रमुख बन्न सक्ने पद्धत्तीको सुरुवात भएको छ ।
लोकतन्त्रलाई संस्थागत गर्न र संविधानको कार्यन्वयनका लागि प्रमुख दलहरु एकजुट हुन आवश्यक छ । निर्धारित समयमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्नु लोकतन्त्रको रक्षा गर्नु हो र प्राप्त उपलब्धीलाई संस्थागत गर्नु हो ।



