नेपालगञ्ज, १९ कात्तिक– नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश प्रमुखहरुको नियुक्तिको विषयलाई लिएर वरिष्ठ नेता माधवकुमार नेपालले राखेको ‘नोट अफ डिसेन्ट’ लाई सामान्यको संज्ञा दिएका छन् ।

पार्टी कामका सिलसिलामा नेपालगञ्ज आएका उनले मंगलबार सञ्चारकर्मीसँग नेता नेपालले उक्त निर्णयमा राखेको असहमति स्वाभाविक भएको प्रतिक्रिया दिए । प्रदेश प्रमुखका लागि नेपालले केही नाम प्रस्ताव गरेको तर, त्यसमा निर्णय हुन नसकेकाले चित्त नबुझेको हुन सक्ने उनको भनाइ थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यद्यपि पार्टी निर्णय नेपालले मानिसकेको दाबी प्रचण्डले गरे । ‘माधवजीले एक/दुई जनाको नाम पक्कै पनि प्रस्तुत गर्नुभएको थियो । जोड दिनुभएको थियो, यो गरौं भन्ने खालले । बैठकले त्यो निर्णय गरेन’, प्रचण्डले भने, ‘उहाँलाई चित्त नबुझेपछि ‘नोट अफ डिसेन्ट लेख्ने कुरा पनि सामान्य नै हो, स्वाभाविक प्रक्रिया हो । उहाँले मान्दिन भन्नुभएको छैन । मेरो भिन्न मत राख्छु भन्नुभएको छ ।’

प्रचण्डले प्रदेश प्रमुख फेर्ने निर्णय सरकारको क्षेत्राधिकारको विषय भएकाले अनौठो नमान्न आग्रह गरे । अन्य देशमा सरकार परिवर्तन भएलगत्तै गभर्नरहरुले नैतिकताका आधारमा राजीनामा दिने प्रचलन रहेको चर्चा गर्दै उनले अघिल्लो सरकारले नियुक्त गरेका प्रदेश प्रमुखुहरुले नयाँ सरकार आएपछि पनि दुई वर्ष काम गरेको बताए । सरकार उदार भएको र कसैको चित्त नदुखाऔं भन्ने सोचका कारण दुई वर्षसम्म उनीहरुलाई पदमा राखेको प्रष्टीकरण प्रचण्डले दिए ।

‘प्रदेश प्रमुखले सरकारको प्रतिनिधिका रुपमा काम गर्ने हो । विदेशतिर पनि सरकार परिवर्तन भइसकेपछि प्रदेश प्रमुख (गभर्नर) सामान्य प्रचलन हो’, प्रबचण्डले भने, ‘उहाँहरुले पहिल्यै ‘मोरल्ली रिजाइन’ गरिदिएको भए हुन्थ्यो, हाम्रो सरकार अली उदा, धेरै नै जिम्मेवार र लचिलो भएकाले सकेसम्म कसैलाई पनि चित्त नदुखाऔं भनेर दुई वर्षसम्म उहाँहरुलाई काम गर्न दिइयो ।’