कालापानी नेपालकै भूभाग भएकाले भारतसँगको त्यससम्बन्धी विवाद नयाँ नरहेको नेपाली अधिकारीहरूले बताएका छन् ।

भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले भारतको ‘नयाँ नक्सामा पुरानै दाबी दोहोर्‍याइएको र यो भूभाग नेपालकै भएको’ बताए । ‘यो नयाँ विवाद होइन । यसमा दाबी मात्र होइन कि नेपालकै जग्गा हो । तर, भारतले पनि दाबी गरिरहेको हुँदा विवाद उब्जिएको हो,’ उनले भने, ‘यसलाई कुराकानीबाट टुंगाउनुपर्छ । आ–आफ्नो प्रमाण पेस गरेर टुंग्याउनुपर्छ । छलफल र कूटनीतिक माध्यमबाट टुंग्याउनुपर्छ, उत्तेजनामा आउनु हुँदैन ।’ यसमा नेपालको आफ्नो पुरानो अडान कायमै रहेको उनले दोहोर्‍याए । नापी विभागका महानिर्देशक प्रकाश जोशीले पनि पछिल्लो नक्सा ‘भारतीय पक्षको पुरानै दाबीअनुसार’ रहेको उल्लेख गर्दै यो उत्खननको विषय नै नरहेको बताए । कान्तिपुर दैनिकमा खबर छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भारतले दाबी गरेका भूभाग नेपालले समेत दाबी गर्दै आएको र प्राविधिक रूपमा आफूहरू यो आधारलाई प्रमाणित गर्न सक्ने तहमा रहेको उनको भनाइ छ । यसलाई नयाँ समस्याका रूपमा नलिन उनले आग्रह गरे । नेपाल–भारत सीमावर्ती समस्या सम्बोधन गर्न सन् ८० को दशकमा बनेको संयुक्त प्राविधिक समितिले सन् २००७ भित्र विवादित भनिएका ७८ बिन्दुमध्ये ७६ वटामा समाधान पहिल्याएको थियो । तर कालापानी र सुस्ता भारतीय पक्षको दाबीमा परेका छन् । कालापानी र सुस्ता प्राविधिक समितिले सुल्झाउन नसकेको विषय रहेको उनको भनाइ छ । ‘यो विवादित मामिला सुल्झाउन प्राविधिक समितिले धेरैअघि परराष्ट्र सचिवस्तरीय उच्च संयन्त्रलाई जिम्मा लगाइसकेको छ,’ उनले भने, ‘यसबारे निर्णय गर्ने कार्यादेश हामीसँग छैन ।’