झापा । प्राध्यापक सङ्घका अध्यक्ष समेत रहेका क्याम्पसका प्राध्यापक हरिप्रसाद तिम्सिनालाई राजनैतिक प्रतिशोधका आधारमा बिना कारण क्याम्पसबाट निष्कासनको प्रयास भएको भन्दै क्याम्पसका विद्यार्थी र प्राध्यापकहरूले आज मङ्गलवार पनि आन्दोलन जारी राख्दा पठ्नपाठ्न ठप्प भएको छ ।
सोमवार क्याम्पस प्रमुख विकास उप्रेतीको विद्यार्थीले पुत्ला दहन गरेका थिए भने मङ्गलवार क्याम्पस प्रशासन र क्याम्पस प्रमुखको काय कक्षमा आन्दोलन विद्यार्थीले तालाबन्दी गरेका छन् । उनीहरूले क्याम्पस प्रशासन विरुद्ध चर्को नाराबाजी समेत गरेका थिए ।
कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा १५ वर्षदेखि कार्यरत प्राध्यापक हरिप्रसाद तिम्सिनालाई क्याम्पस सञ्चालक समितिले लगातार ३ पटक क्याम्पस सञ्चालक समितिको बैठकमा नआएको भन्दै निष्कासनको पत्र पियन मार्फत दिन खोजिएको थियो । प्राध्यापक सङ्घका सभापति स्वतः क्याम्पस सञ्चालक समितिको पदेन सदस्य रहने विधानतः व्यवस्था छ ।
के हो क्याम्पसको चुरो समस्या रु
कनकाई बहुमुखी क्याम्पस सुरुङ्गा यहाँका सक्रिय राजनीति दल तत्कालीन माओवादी केन्द्र बाहेकले राजनैतिक भागबन्डा गरेर अध्यक्ष नेपाली काँग्रेस , उपाध्यक्ष तत्कालीन एमाले लगायतका अन्य सङ्घीय समाजवादी र राप्रपा समेत मिलेर भागबन्डामा पारिएको हो । काँग्रेसले कनकाई बहुमुखी क्याम्पस अध्यक्षमा लिएपछि तत्कालीन एमालेलाई कनकाई सामुदायिक वन समूह अध्यक्षमा समर्थन गर्ने सहमति बनेको हो । यद्यपि कनकाई सामुदायिक वनमा तत्कालीन भने माओवादी केन्द्रलाई उपाध्यक्ष दिइएको थियो ।
कालान्तरमा कनकाई बहुमुखी क्याम्पसमा भने नेपाली काँग्रेस र नेकपाका सदस्यहरूको मनमुटाब बढेपछि कोषाध्यक्ष लीला उप्रेती लगायतका नेकपाका ६ जना सदस्यहरूले क्याम्पस सञ्चालक समितिबाट राजीनामा दिएका छन् । यस बिचमा क्याम्पसले डिग्री कक्षा फ्रिज आउट गर्न खोज्दा नेकपा समर्थित विद्यार्थी लगायतको सहयोगमा क्याम्पस सञ्चालक समितिको कदम बदर गर्न लगाएको थियो । काँग्रेस समर्थित क्याम्पस सञ्चालक समितिले नेकपा समर्थित हरिप्रसाद तिम्सिनालाई क्याम्पस बाट निकालेर नेकपाका सदस्यहरूले क्याम्पस छाडेको बदला लिने मनसायले हरिप्रसाद तिम्सिनालाई निकाल्ने योजना बनाएरै यो कदम चालेका हुन ।
यसअघि क्याम्पसबाट अन्य प्राध्यापकहरूलाई पनि निकालिएको भए पनि उनीहरू र हरिप्रसाद तिम्सिनाबिचमा आकाश जमिनको फरक पाइएको छ । निष्कासन गरिएका अन्य प्राध्यापकहरू क्याम्पस नआएको कारण निकालिएको भए पनि हाल निष्कासन गरिएका हरिप्रसाद तिम्सिनालाई भने बदलाको भावनाले निष्कासन गरिएको हो ।










