भद्रपुर । इस्लाम धर्मगुरु पैगम्बर हजरत मोहम्मदको जन्म जयन्ती मनाएर घर फर्किँदै गरेको सिटी सफारी दुर्घटना हुँदा झापामा बालबालिकासहित १० जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा कचनकवल गाउँपालिका ७ बस्ने १४ वर्षीय मोहम्मद आलम, ११ वर्षीय राजद आलम, १२ वर्षीय आजाद आलम, १७ वर्षीय अमिर आलम, ८ वर्षीय तोहीत आलम, १४ वर्षीय साहित आलम, १३ वर्षीय आलवास खान, १० वर्षीय रोहित आलम, ५ वर्षीय मोहम्मद विहाज र ५५ वर्षीय रजपूल आलम रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घाइते मध्ये अधिकांशको टाउको, हात, खुट्टामा गम्भीर चोट लागेकोले उनीहरू भद्रपुर स्थित ओम साइ पाथीभरा हस्पिटलमा उपचार भइरहेको जनाइएको छ । मुस्लिम समुदायको पर्व पैगम्बर जन्मजन्यती मनाएर मे १ स ४९९७ नम्बरको सिटी सफारी चढेर कचनकवल ६ स्थित बनियानीदेखि तारबन जानेक्रममा सफारी सडकमा पल्टिएर दुर्घटना भएको थियो ।

सफारीले क्षमता भन्दा बढी यात्रु बोकेकोले पल्टिएको प्रहरीले जनाएको छ । यता सिटी सफारीलाई इलाका प्रहरी कार्यालय बनियानीले नियन्त्रणमा राखेको छ, भने चालक आलम समेत घाइते भएकोले उपचार भइरहेको छ ।