काठमाडौं/ राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मंगलबार चार दिने भ्रमणमा आउँदै छन् । सरकारले यसलाई औपचारिक सद्भावना भ्रमण भनेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

परराष्ट्र मन्त्रालयका अनुसार उनी रिट्रिटका लागि पर्यटकी नगरी पोखरा जानेछन् । फेवातालमा उनले डुंगा शयर गर्ने कार्यतालिका तय गरिएको छ । सराङकोट डाँडा उनको रोजाइमा परेको छ ।

हमिदको टोलीले काठमाडौं उपत्यकाका ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक स्थलको भ्रमण गर्नेछन् । उनी चन्द्रागिरी हिल, धुलिखेल पनि पुग्ने कार्यक्रम छ । नगरकोट जाने तयारी रहे पनि सडकको दुरावस्थाका कारण रोकिएको एक अधिकारीले बताए ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्रीले औपचारिक स्वागत गर्ने कार्यक्रम छ । त्यहीं अन्य स्वागत कार्यक्रम पनि हुने बताइएको छ । त्यसका लागि सबै निकायका प्रमुखहरू विमानस्थल पुग्नुपर्ने मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

हमिदले राष्ट्रपति भण्डारीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् । राष्ट्रपति भण्डारीले आफ्ना समकक्षीको सम्मानमा भोज आयोजना गर्नेछिन् । बंगलादेशले नेपालमा लगानी, सार्क र उपक्षेत्रीय सहकार्यका विषयमा छलफल गर्ने बताइएको छ ।

बंगलादेश, भुटान, भारत र नेपाल (बीबीआईएन) सहकार्य पनि अघि नबढेको अवस्थामा भुटानलाई छाडेर भए पनि सहकार्य अघि बढाउने विषयमा बंगलादेशले जोड दिँदै आएको छ । भुटानले बीबीआईएनमा असहमति राखेको छ । बिम्स्टेकको मुख्यालयसमेत बंगलादेशमा छ । सार्क र आसियानलाई जोड्न बनेको उक्त आर्थिक संगठनको सहकार्य र गतिविधिबारे छलफल गर्ने तयारी छ ।

हमिदसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतले छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम रहेको जनाइएको छ । विभिन्न दलका नेताले पनि उनीसँग भेट गर्ने कार्यक्रम छ । कांग्रेससँग विशेष वार्ता गर्ने तयारी गरेको स्रोतले जानकारी दिएको छ । बंगलादेशको स्वतन्त्रताका लागि कांग्रेसको तत्कालीन नेतृत्वले र्पुयाएको योगदानबारे छलफल हुने जनाइएको छ ।