काठमाडौं, २५ कार्तिक । अपहरणमा परेका एक युवक–युवती छुटाउन र अपहरणकारीलाई पक्राउ गर्न दाङ प्रहरीले हवाई फायर गरेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरले अपहरणकारीलाई पक्राउ गर्न दुई राउण्ड हवाई फायर गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरीले हवाई फायर गरी युवक र युवतीलाई अपहरण गरेको आरोपमा तुलसीपुर उपमहागरपालिका–. ३ खमारीका १९ वर्षीय विमल वली, नविन नेपाली र २६ वर्षीय दुजबहादुर खत्रीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी हरिहरनाथ योगीले जानकारी दिएका छन् ।

गत शनिबार उनीहरुले मोटरसाइकलमा फर्कदै गरेका एक युवा र युवतीलाई बन्धक बनाई अश्लील भिडियो समेत बनाएका थिए । वाध्य पारेर खिचिएको सोही भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने भन्दै उनीहरुले परिवारबाट फिरौती माग्दै आएका थिए ।

गत शनिबार दिउँसो साढे ३ बजेतिर रा ४ प ६०८३ नम्बरको मोटरसाइकलमा तुलसीपुर उपमहानगरपालिका–३ खमारीस्थित चमेरे गुफाबाट फर्किदै गर्दा उनीरुलाई स्थानीय युवाहरुले बन्धक बनाएको जनाइएको छ ।

अपहरणकारीले अश्लील भिडियो बनाएपछि पाँच लाख रुपैयाँ नदिए सार्वजनिक गरिदिने भन्दै धम्की दिंदै आएका थिए । डिएसपी योगीका अनुसार पक्राउ परेका तीन जना र फरार दुई जना समेत गरी पाँच युवाले अपहरणपछि सडक खण्डदेखि ५० मिटरमाथि टाकुरामा लगी कुटपिट गरेका थिए ।

डर त्रास देखाई अश्लीलता प्रकट हुने गरी भिडियो बनाएको र त्यसैका आधारमा बार्गेनिङ गर्ने गरेको योगीले जानकारी दिएका छन् । उक्त दिन ती अपहरणकारीले युवा युवतीको सवारी चालक अनुमति पत्र र २ थान मोवाईल खोसेर लगेका थिए ।

सोही जाहेरीका आधारमा सोमबार एकाविहानै तुलसीपुर ३ खमारी क्षेत्रमा प्रहरी परिचालित भएको थियो । अपहरणकारी भाग्न खोजेपछि नियन्त्रणमा लिन दुई फायर गर्नु परेको डिएसपी योगीले जानकारी गराएका छन् ।

विहान साढे ७ बजेतिर प्रहरीले दुई राउण्ड गोली फायर गरेर उनीहरुलाई पक्राउ गर्न सफल भए पनि घटनामा संलग्नमध्ये २३ वर्षीय इश्वर पुन र २० वर्षीय अर्जुन पुन फरार रहेको प्रहरीले बताएको छ । उनीहरुको खोजी तीव्र पारिएको डिएसी योगीले बताएका छन् ।