काठमाडौं, २६ कार्तिक । बि.एण्ड.सि मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले अनशनरत डा. गोविन्द केसीले अघि सारेका अहिलेका मागहरु कुनैपनि जायज नभएको जिकिर गरेका छन् । यसअघि केसीले अघि सारेका सबै माग पूरा भैसकेको उनको दाबी छ ।

मंगलबार रिपोर्टर्स क्बल नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘पूर्व मेची अञ्चलमा एउटा पनि मेडिकल कलेज थिएन् । मैले खोलें । २९ लाख मेचीवासीहरुको हितको लागि मैले कलेज खोलेको हुँ । कोशीमा तीन वटा मेडिकल कलेज छन् । बाग्मतीमा मात्रै दश वटा छन् । सुलभ स्वास्थ्य पाउनु मेचीवासीको अधिकार होईन् ? डा. केसीका माग डिनबाट सुरु भएको हो । शक्तिशाली चिकित्सा शिक्षा आयोग पनि बनिसक्यो । उहाँका सबै माग पूरा भएका छन् । मेरो पीडा कसले बुझ्ने ?’

उनले निजी मेडिकल कलेजले कसले के कति शुल्क लिएका छन् ? त्यसको अनुगमन होस भन्ने पक्षमा आफू पनि भएको सुनाए । उनले भने,‘लगानीको आधारमा शुल्क लिएका छन् ।’ उनले आफूलाई सरकारले २०६८ साल माघ २४ गते आशयपत्र दिएको पनि सुनाए । तर, आज ८ वर्ष बितिसक्दापनि अनुमति नदिएको उनको गुनासो छ । उनले भने,‘मैले मेडिकल कलेज पर्खिएर बसेको आज यत्तिका वर्ष भैसक्यो । मेरो पीडा कसले बुझ्ने ?’

प्रसाईले गत वर्षमात्रै आफूले राज्यलाई १७ करोड कर तिरेको सुनाए । त्यतिमात्रै नभएर उनले करिब एक हजारलाई प्रत्यक्ष रोजगारी दिएको पनि बताए । उनले भने,‘म सुरेन्द्र भण्डारीजीलाई भन्छु खोई त मेरो लागि तपाईहरुले बोल्नुभएको हो ? तपाईहरुको पनि त दायित्व भन्ने कुरा होला नि । मैले के सबैभन्दा राम्रो क्यान्सर अस्पताल बनाएको छु, यो बनाउनु के अपराध हो त ?’

उनले अनशनरत डा. केसीका कुन माग राम्रा छन्? भन्दै देखाउन चूनौति दिए । उनले भने,‘म माफिया होईन, गोविन्द केसीलाई अनशन बस्न लगाउनेहरु माफिया हुन् । हामीले त डा. केसीलाई साथ दिएकै हो नि । उहाँले सुदुर पुर्व जान भन्नुभयो, मैले बि.एण्ड.सी. खोलें ।’

उनले आफूमाथि उल्टै अन्याय र अत्याचार भएको आरोप लगाए । उनले देशमा सबैभन्दा राम्रो हस्पिटल र मेडिकल कलेजपनि आफ्नै भएको दाबी गरे । नेपालको सबै पैसा पढाईको नाममा बाहिर गएको पनि उनको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित खवर