विनु तिम्सिना/ माेरङ । आन्तरिक पर्यटनको सम्भावना रहेको मोरङको मिक्लाजुङ गाउँपालिका–२ मा अवस्थित चुलिपोखरीको प्रचारप्रसार र प्रवर्द्धन प्रयास शुरू भएको छ । गाउँपालिकाका अध्यक्ष, वडाध्यक्ष तथा त्यस क्षेत्रका प्रदेशसभा सांसदको संयुक्त पहलमा उक्त पोखरीको विकास, संरक्षण र प्रवर्द्धन सुरुवात भएको हो ।

धार्मिक तथा ऐतिहासिक महत्व बोकेको मोरङ मिक्लाजुङ गाउँपालि–२ मा रहेको चुलिपोखरी पर्याप्त प्रचारप्रसार नहुँदा ओझेलमा छ । घनाजङ्गलले ढाकेको चुलिपोखरी ‘डब्लु’ आकारको ठूलो चट्टानको शिरमा झण्डै २ विगाहा क्षेत्रमा फैलिएको छ । सो क्षेत्रमा सडक, विद्युत् र खानेपानीको अभाव छ । पर्यटन क्षेत्रको रुपमा विकास गर्न खोजिए पनि त्यस क्षेत्रमा पर्याप्त मानिसको आवतजावतको सम्भावना हाललाई कमजोर छ । पोखरीको संरक्षण तथा प्रवर्द्धनका लागि प्रदेश सरकारको पहलमा आफूहरुले काम गर्न शुरू गरेको गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले बताउनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

चुलिपोखरी क्षेत्रमा ३५ घर रहेका छन् । धार्मिक तथा पुरातात्विक हिसाबले महत्वपूर्ण स्थानको रुपमा परिचित चुलिपोखरीको विकास शुरू भएपछि स्थानीयबासी खुशी छन् । प्रदेश १ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष ०७५/०७६ मा छुट्याएको चार लाख रकमले चुलिपोखरीलाई घेराबार गर्ने कार्य गरिएको छ । चालू आर्थिक वर्षमा पनि प्रदेशसरकारको सहयोगमा सडक निर्माणदेखि सिंढी निर्माणको काम शुरु गरिएको २ नम्बरका वडाध्यक्ष गौरीप्रसाद राईले बताउनुभयो ।

पर्यटनको प्रचूर सम्भाव्यता रहेपनि चुलिपोखरीको प्रचारप्रसार र प्रवर्द्धन नहुँदा सुनसान जस्तै छ । चुरे पहाडको थाप्लोमा रहेको यो पोखरी धार्मिक तथा पुरातात्विक हिसाबले समेत निक्कै महत्वपूर्ण स्थान रहको त्यहाँका स्थानीय भगीरथ अर्यालले बताउनुभयो ।

सरकारले सन् २०२० लाई पर्यटन वर्षको रुपमा मनाउँदै गर्दा कार्यक्रम सफल बनाउन पूर्वाधार निर्माण आवश्यक छ । चुलिपोखरीजस्ता प्राकृतिक पूर्वाधारको संरक्षण र विकासमा तीनै तहका सरकारले ध्यान दिनुपर्ने देखिन्छ ।