लमजुङ, १४ वैशाख । वैशाख र जेठको ३१ गते हुने स्थानीय तहको चुनाव दुई कम्युनिष्ट पार्टीबीच मिलेर जाने सहमति भएको छ । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल एमालेबीच लमजुङमा चुनावी तालमेल भएको हो । बिहिवार एमाले र माओवादीले सयुक्त प्रेस वक्तव्य जारी गर्दै स्थानीय तहको चुनावमा सयुक्त मोर्चा बनाएर जाने बताएका हुन् । माओवादी केन्द्रका जिल्ला इन्चार्ज पारसमणि पौडेल र एमाले अध्यक्ष धनञ्जय दवाडीले संयुक्त प्रेस वक्तव्य जारी गरी सम्वृद्ध लमजुङको विकासका निम्ति एकजुट भएको बताएका छन् । तर केन्द्रमा मिल्न नसकेको एमाले र माओवादी लमजुङमा भने सहज ढंगले मिलेको छ ।
बेंसिसहरमा भएको पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्य मायानाथ अधिकारी, माओवादी केन्द्रका जिल्ला सहइन्चार्ज बुद्धिराम गुरुङ, जिल्ला संयोजक मधु अधिकारी लगायतको उपस्थिति थियो । उनीहरुले स्थानीय तह चुनावमा ‘संयुक्त मोर्चा’ बनाएर अघि बढ्न सहमत भएको दुवै राजनीतिक दलका नेताहरुले बताएका छन् ।
४ गाउँपालिका र ४ नगरपालिकामा एमाले र माओवादी केन्द्रबीच ५ तहको प्रमुख र उपप्रमुख एमाले र ३ तहको प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रले उम्मेदवार उठाउने सहमति भएको छ ।



