प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ-पुराना मन्त्रीहरूलाई एकसाथ राखेर सरकारको काम प्रभावकारी बनाउन र मितव्ययीता अपनाउन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले बिहीबार सिंहदरबारमा पुनःगठित मन्त्रिपरिषद्का सदस्य, सचिवहरू र योजना आयोगका सदस्यहरूलाई सँगै राखेर सरकारको दोस्रो चौमासिक योजनाबारे निर्देशन दिएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

adadad दोस्रो चौमासिक कार्यसम्पादन मूल्याङ्कन फागुनको दोस्रो साता गरिने भन्दै त्यो अवधिमा ५० प्रतिशत पुँजीगत खर्च सक्नेगरी काम गर्न निर्देशन दिएका छन् । “पुँजीगत खर्च न्यून हुँदा जनताको विकासको चाहना पूर्ति हुन सक्दैन,” प्रधानमन्त्रीले मन्त्री, सचिवहरूलाई दिएको निर्देशन उद्धृत गर्दै प्रेस सल्लाहकार सूर्य थापाले भने, “दोस्रो चौमासिक अवधिमा पुँजीगत खर्चको दायरा बढाउनुहोस् । मन्त्रालयबीच समन्वय कायम गर्नुहोस् ।”

“विकासका योजनहरू अघि बढाउँदा प्रधानमन्त्री, मन्त्री, सचिव, सम्बन्धित विभागका प्रमुखलाई भाग चाहिन्छ भन्ने मैले सुनेको छु । जनताको काम गर्न सरकारले हामीलाई छुट्याएको तलब, भत्ता सुविधा पर्याप्त छ,” भन्दै प्रधानमन्त्रीले भ्रष्टाचारविरुद्ध कडाइका साथ प्रस्तुत हुन निर्देशन दिए ।

उनले चौमासिक कार्यसम्पादन अवधि सुरू हुँदा कृषि उत्पादन घटेकाले आयात बढ्न सक्ने बताउँदै व्यापारघाटा न्यूनीकरण गर्न पनि जोड दिएका थिए । दोस्रो चौमासिकको अन्त्यसम्म उत्पादन बढाउनुपर्ने उनको निर्देशन थियो ।

एक अर्को प्रसङ्गमा प्रधानमन्त्री ओलीले जनताले आफूले जग्गाको राजश्व तिर्दा न्यूनतम मूल्यांकन राखेर बुझाउन तर सरकारसँग क्षतिपूर्ति दाबी गर्दा अधिकतम मूल्याङ्कन गर्ने गरेको बताउँदै त्यस्ता प्रवृत्ति निरुत्साहित तुल्याउँदै सबैखाले राजश्व चुहावट रोक्न निर्देशन पनि दिए ।

प्रधानमन्त्री ओलीले मन्त्रालयबीच समन्वय नहुँदा एकातिर विकास र अर्कोतिर विनासको शृङ्खला बढेको बताए । उनले पारस्परिक सहयोग, समन्वय, सहकार्यका आधारमा कार्यसम्पादन गर्न पनि जोड दिए ।

“कतै खाल्डो खनिँदैछ । कतै पाइप ओछ्याइँदैछ । कतै बाटो बन्दैछ । अब यो अवस्था अन्त्य हुनुपर्छ । मन्त्रालय, सम्बन्धित विभागबीच समन्वय हुने हो र एकसाथ काम हुने हो भने जनशक्ति आधा, समय आधा र बजेट आधामा काम सकिन्छ,” उनले भने । बाह्रखरी बाट साभार