प्रिय दर्शना !
तिमीलाई यसरि सम्बोधन गरिहँदा म अहिले बैतडिको एउटा बिकट गाउँमा छु । जुन दिन तिमीले काठमाण्डौँ बाट आफ्नो उमेद्वारी घोषणा गर्यौ, त्यो दिन म यी बिकट गाउँहरुमा मेरो कार्यालयको कर्मचारिको रुपमा दुईजना एस. एल. सि. पास गरेका किशोरी खोज्दै थिएँ । तिमीलाई उमेद्वारी दिन जती गाह्रो थियो, त्यती नै गार्हो भयो मलाई ती किशोरीहरु खोज्न ! तिमीले पनि चुनौती सामना गर्दै उमेद्वारी दियौ र मैले पनि तीन दिन लागाएर दुई जना किशोरिहरु भेट्याएँ । दर्शना, यसै हेर्दा कुनै तालमेल नदेखिए पनि यो दुबैसँग जोडिएक अनेक कारणहरुमा एउटा हामी ‘महिला युवा’ हुनु हो । यतिबेला तिमी काठमाण्डौँमा आफ्नो प्रचारमा ब्यस्त छौ, र यी बहिनिहरु जिन्दगीमा पहिलो पल्ट ल्यापटप र मुभी हेर्न पाएकोमा दँग छन !
दर्शना,
यतिबेला नेपाली राजनितिमा सबै भन्दा ‘मार्जिनलाईज्ड’ समूह कुन हो थाहा छ ? त्यो हो ‘युवा’ ! आधा भन्दा धेरै भोटर समूह भएको युवा पङ्तिको राजनितिक सहभागिता शुन्यप्राय: छ । अझ हामी जस्ता तन्नेरी युवतीहरु कुनै ‘नक्सामा’ नै पर्दैनौँ ।
मैले तिम्रो उमेद्वारी पछी समाजिक सन्जाल र मिडियामा धेरैको प्रतिकृया देख्दै छु र सबैभन्दा बढी प्रयोग गरिएको र तितो प्रतिकृया ‘केटी काँची छे अझै’ !
बैनि, तिमी त मात्रै प्रतीनिधी पात्र मात्रै हौ । यो प्रहार तिमी प्रती मात्र होईन, तिमी र म जस्ता लाखौँ युवतीहरु माथी हो । तिमीलाई काँचो देख्नेहारुको आँखामा हामी युवतीहरुको भूमिका भनेको नेताहरुको चुनाव प्रचारको लागी गीतमा नाचेर स्टेज तताइदिनु पर्ने र प्रचारमा हिँडेका ‘मर्दहरु’ ‘बोर’ नहुन भनेर साथमा हिँड्नु पर्ने । त्यो भन्दा धेरै सोँच्यो भने त्यो त ‘पाप’ हुनेछ ।
हामी त्यो समाजका प्रतीनिधी पात्र हौँ, जहाँ छातिमा स्तनका स-साना गिर्खा उम्रन नपाउँदै १४-१५ बर्षमा बिहे गर्न हतार गर्ने बाबु र भर्खर शरिरमा यौबनाताका आँकुरा टुसाउँदै गर्दा १७-१८ बर्ष नपुग्दै आमा बनाउन सक्ने पतिले, तिमी २१ बर्षको उमेरमा मेयरको आँट गर्दा तिमीलाई ‘काँचो’ देख्छ।
प्रिय बैनि,
२०-२१ बर्षकी केटी बाईकको पछाडी आफ्नो ब्यायफ्रेन्डको पिठ्युँमा माउसुली जस्तै चिप्किएर डेटिङ्ग जाने गरेको मात्रै परिकल्पना गरेको यो समाजलाई तिमीले ‘चुनौतिको माझी औँला’ ठड्याएर जुन हिम्मत गरेकि छौ, यो नै तिम्रो पहिलो र ठूलो बिजय हो !
तिमीले अब अगाडी पनि जित्नु पर्छ । तिम्रो लागी मात्रै होईन तिमी र तिमी जस्ता लाखौँ युवा- युवतीहरुको लागी ।
तिमी त्यो २१ बर्षे युवतिको लागी जित्नु पर्छ, जसलाई दाईजो नल्याएको बहानामा बर्बर शारिरिक र मानसिक यातना दिइन्छ । चुरोटका ठुटाहरुले स्तनका टुप्पाहरु डामिन्छ र जव पिडा बोकेर माईत फर्किन्छे, माईतिको एउटै आवज हुन्छ,”एडज्स्ट गर्नु पर्छ छोरि, आफ्नो परिवारलाई रिझाएर राक्नु पर्छ ।” बिडम्बना मैले आज सम्म त्यो ‘एडजस्ट र रिझाउनुको’ को परिभाषा भेट्याउन सकेकी छैन । किन सिकाएन उसलाई परिवारले, आफ्नो लागी आफै लड्नु पर्छ भनेर ? माईतिले उसलाई ‘गुडिया’ बनाएर राखे तर उ बिहे पछि ‘खेलौना’ बनी । त्यसैले बैनी, यो ‘गुडिया’ र ‘खेलौनाको’ परिभाषा चिर्न पनि तिमीले जित्नु पर्छ ।
काठमाण्डौंको पब्लिक गाडीमा हिँड्दा कुईनाले हाम्रा छाती नाप्नेहरुलाई जवाफ दिन पनि तिमीले जित्नु पर्छ ।
मलाई “मेरो रक्षा गर्ने समाज र परिवार होईन , मेरो स्वतन्त्राको रक्षा गर्ने समाज र परिवार चाहिएको छ” । म त्यो समाज चाहान्छु जसमा मेरो परिवारले मलाई ‘बुझाउने’ भन्दा पनि मलाई ‘बुझ्ने’ प्रयास गरोस । त्यसको लागी पनि तिमीले जित्नु पर्छ ।
छोरिको पढाईमा कम र बिहेमा धेरै खर्च गर्ने समाजको चलनलाई बदल्न पनि तिमीले जित्नु पर्छ ।
तिमीले जित्नु पर्छ, किनकी युवा पुस्तालाई बिस्वास नगर्ने भन्दा पनि अविस्वास नै गर्ने यो राजनितिको भुमरिमा ‘तिमी’ आशाको झिल्का हौ ।
त्यसैले दर्शना, तिमी यो यात्रामा एक्लो छौनौं । तिमीसँग ‘तिमी’ जस्ता ति लाखौँ ‘तिमीहरु’ छन्, जसले तिम्रो बिजयमा आफ्नो बिजय देख्ने छन ।
प्रिय बहिनी खुट्टा नकमाउनु हामी साथमै छौँ, शुभकामना !
-Nura S.-धनगढी
फेसबूक बाट सभार



