संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मुलुकमा समृद्धि ल्याउने दिशामा सरकार लागि परेको बताएका छन् । नेपालगञ्ज म्याराथनको पाँचौं संस्करणको शनिवार नेपालगञ्जमा उद्घाटन गर्दै उनले सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई राष्ट्रव्यापी बनाउँदै हासिल भएका उपलब्धिलाई अन्तर्राष्ट्रियकरण गर्ने दिशामा अघि बढेको उल्लेख गरे ।

सरकारको नारालाई देश विदेशमा पुर्‍याउन नेपालगञ्ज म्याराथनले सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्दै मन्त्री भट्टराईले नेपालगञ्ज म्याराथनलाई अन्तर्राष्ट्रियस्तरको बनाउन सरकारले सहयोग गर्ने बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शान्ति, सद्भाव र एकताका लागि नेपालगञ्ज म्याराथनले भूमिका खेलेको चर्चा गर्दै स्वास्थ्यका लागि खेलकुद जरुरी रहेको उनको भनाइ थियो । नेपालगञ्ज विमानस्थलको विस्तार र स्तरोन्नतिको अध्ययन र छलफलका लागि आफू नेपालगञ्ज आएको बताउँदै मन्त्री भट्टराईले छिट्टै अन्तर्राष्ट्रिय उडान भर्न सक्ने विमानस्थल तयार गर्ने दाबी गरे ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिमिल्सिना, नेपाल एथ्लेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाह, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणा लगायतले नेपालगञ्ज म्याराथनले नेपालगञ्जलाई चिनाउन सहयोग गरेको बताए ।

नेपालगञ्ज म्याराथनको पाँचौ संस्करणमा २ हजार ७०० जनाभन्दा बढी सहभागी भएका छन् । नेपाल सरकार र तत्कालीन विद्रोही माओवादीबीच २०६३ मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताको सम्झनामा नेपालगञ्ज म्याराथनको शुरूआत गरिएको क्रियटिभ ह्याण्डसका अध्यक्ष टीएस ठकुरीले जानकारी दिए ।

उनका अनुसार म्याराथनमा प्रथम हुनेलाई ६५ हजार, दोस्रो हुनेलाई ३५ हजार र तेस्रो हुनेलाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । हाफ म्याराराथनतर्फ प्रथम हुनेलाई ३५ हजार रुपैयाँ, दोस्रो र तेस्रो हुनेलाई क्रमशः २० हजार रुपैयाँ र १० हजार रुपैयाँ प्रदान गरिने छ । नेपालगञ्जको बीपीचोकबाट शुरू भई कोहलपुर चौराहदेखि उत्तरतर्फ पुगी सोही रुट हुँदै पुनः बीपीचोकमा आएर म्याराथन पूरा हुनेछ ।