बढी लिएको शुल्क फिर्ता गर्नुपर्ने भन्दै विद्यार्थी र अभिभावक आन्दोलित भएपछि पठनपाठन ठप्प भएको चितवन मेडिकल कलेज परिसरमा बेवारिसे अवस्थामा पेस्तोल र गोली फेला परेको छ ।

भरतपुर महानगरपालिका–५ कैलाशनगरस्थित कलेजको परिसरमा शनिवार दिउँसो बेवारिसे पेस्तोल भेटिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार अमेरिकामा निर्मित नाइन एमएमको अत्याधुनिक पेस्तोल र त्यसमा लाग्ने २ राउण्ड गोली फेला परेको हो । त्यससँगै थ्री नट थ्रीको ७ राउण्ड खाली खोका, थ्री नट थ्रीको १ राउण्ड गोली र २ राउण्ड नाइन एमएमको गोली बरामत गरिएको उनले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय गीतानगरले दिएको जानकारीअनुसार शनिवार दिउँसो साढे ३ बजे पेस्तोलसहित गोली भेटाएको हो । कलेजको सुरक्षा गार्डले पेस्तोल भेटिएको जानकारी प्रहरीलाई गराएको थियो । प्रहरी उपरीक्षक मल्लले पेस्तोल र गोलीका विषयमा अध्ययन शुरू गरिएको बताए ।

कलेजले शुल्क बढी लिएको भन्दै फिर्ता गर्न विद्यार्थीले मागसँगै आन्दोलन गरेपछि भदौ ५ गतेबाट कलेजको पठनपाठन प्रभावित भएको छ । दशैंपछि १ साता पढाइ भएपनि सो पश्चात शैक्षिक कार्यक्रम ठप्प रहेको छ ।

कलेज परिसरमै रहेको आवास नजिकै पेस्तोल र गोली फेला परेको हो । आवासमा २०० विद्यार्थी बसोबास गर्छन् । लोकान्तर बाट साभार