प्रधामनन्त्री केपी शर्मा ओलीले आइतवार चौथोपटक मिर्गौलाको डायलासिस गरेका छन् ।

प्रधानमन्त्रीको स्वास्थ्यबारे विभिन्न खालका समाचार र अडकलबाजी आइरहन्छन् तर प्रधानमन्त्रीको स्वास्थ्य बाहिर मिडियामा आएजस्तो कमजोर नरहेको उनका मुख्य सल्लाहकार विष्णु रिमालले बताएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मिर्गौला प्रत्यारोपण गरेका मान्छे ३५ वर्षसम्म बाँचेको र लामो समय काम गर्ने गरेकाले प्रधानमन्त्रीको स्वास्थ्य कमजोर भन्न नमिल्ने रिमालको जिकिर छ ।

गोरखापत्र दैनिकलाई दिएको अन्तर्वार्तामा रिमालले प्रधानमन्त्री ओलीले अहिले पनि दैनिक १८ घण्टा काम गरिरहेको बताएका छन् ।

'प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे पनि निकै चर्चा–परिचर्चा मिडियामा आउने गरेको छ, खासमा स्वास्थ्य अवस्था कस्तो छ ?' भन्ने प्रश्नमा यस्तो छ रिमालको जवाफ :

हाम्रा मिडियाहरूले विषय नै नपाएर प्रधानमन्त्रीको स्वास्थ्यलाई लिएर समाचार सम्प्रेषण गरेको देखिन्छ । अतिरञ्जित तरिकाले मनोरोग लागेको जस्तो समाचार आउने गरेको छ । यसमा मेरो असहमति छ ।

प्रधानमन्त्रीको स्वास्थ्य ठीक छ । उहाँले हामी कोही स्वस्थ मान्छेभन्दा बढी काम गरिरहनुभएको छ । अस्वस्थ भए कसरी काम गर्नुहुन्थ्यो होला ?

प्रधानमन्त्री स्वास्थ्यका हिसाबले अलि कमजोर हुनुहुन्छ भन्ने त पहिलेदेखि जानकारी छ । उहाँ लामो समय जेल बस्दै गर्दा अस्वस्थ हुनुहुन्थ्यो । आफ्नो स्वास्थ्य लुकाउनुभएकै छैन उहाँले ।

थपमा, १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको हो । प्रत्यारोपण गरेको आयु कति हुन्छ ? खोज गर्दा हुन्छ । मान्छेहरू ३५ वर्षसम्म बाँचेको देखिएकै छ ।

मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिको आयु यतिउति भन्नु डेढअक्कली प्रचार हो । स्वास्थ्यमा अन्दाजबाजी गर्नुहुँदैन ।

मिर्गौला प्रत्यारोपण गरेपछि ओरिजिनल अंगलाई कमजोर र राखेको अंगलाई फुर्तिलो बनाउन नियमित औषधि खानुपर्ने हुन्छ । प्रधानमन्त्रीले त्यही गरिरहनुभएको छ ।

आवश्यक पर्दा प्रधानमन्त्रीले फेरि मिर्गौला प्रत्यारोपण पनि गर्न सक्नुहुन्छ ।

सूचना पाउँदापाउँदै पनि मिडियामा अड्कलबाजी धेरै भइरहेको छ । प्रधानमन्त्री पद नै व्यस्त रहने पद हो । अरूले आठ घण्टा काम गर्छन्त र, प्रधानमन्त्रीले दिनको १८ घन्टा काम गरिरहनुभएको छ ।

धेरै अस्वस्थ भएको भए यत्ति धेरै काम कसरी गर्नुहुन्थ्यो ? त्यसैले मिडियामा आएको समाचारजस्तो खराब स्वास्थ्य उहाँको होइन ।-लोकान्तर