पोखरा, मंसिर ९

कालापानीका विषयमा पार्टी सभापति शेरबहादुर देउवाले दिएको अभिव्यक्तिको प्रवक्ताले नै खण्डन गर्नुभएको छ । उहाले सभापति देउवाको भनाई आशंकाको भरमा गरिएको भन्दै बचाउ गर्न भने खोज्नुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सोमबार कास्कीको पोखरामा आयोजित पत्रकार भेटघाटमा कांग्रेस प्रवक्ता शर्माले देउवाको भनाई आशंकामात्र भएको बताउदै त्यो पार्टीको ठहर भने नभएको स्पष्ट पार्नुभयो । ‘सभापति ज्यूले आशंका गर्नु भएको हो, पार्टीको ठहर होइन्,’ प्रवक्ता शर्माले भन्नुभयो, ‘त्यसको जवाफ फर्काइरहनु भन्दा सरकारले भारतसँग जवाफ मागोस्।’

शनिबार पोखरामै आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतले सल्लाह गरेरै नयाँ राजनीतिक नक्सा बाहिर ल्याएको आरोप लगाएपछि त्यसको सर्वत्र आलोचना भएको थियो ।

प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा देउवाले भारतले जारी गरेको विवादित नक्सा सच्याउन छिटो पहल गर्न भनेको स्मरण गर्दै शर्माले भन्नुभयो, ‘सरकारले देउवालाई जवाफ दिइरहनु पर्दैन, सीधै मोदीसँग कुरा गरे हुन्छ ।’ सबै दलले पटक–पटक भारतसँग छिटो वार्ता गर्न भन्दा पनि प्रधानमन्त्री ओलीले नगरेकाले आशंका गरिएको कांग्रेस प्रवक्ता शर्माको भनाइ छ ।