बैंकका कर्मचारी र गिरोहको मिलेमतोमा राजधानीमै फर्जी कागजात बनाएर १९ वटा बैंकको रकम चोरी भएको छ ।
चोरीमा संलग्न आरोपमा अञ्जान बराल, गोविन्द घिमिरे र विभिन्न बैंकका चार कर्मचारीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ ।
फर्जी कागजका आधारमा खोलिएका खाता र एटीएम कार्डमार्फत जनता बैंक, एनआईसी एसिया, माछापुच्छ्रे र मुक्तिनाथलगायत १९ वटा बैंकका शाखाबाट पैसा चोरी भएको हो । घटना थाहा भएपछि प्रहरी, राष्ट्र बैंक र रकम चोरिएका एनआईसी एसिया, माछापुच्छ्रे, जनता र मुक्तिनाथलगायत बैंकका प्रमुख कार्यकारी अधिकृतसहितका कर्मचारीको मंगलबार प्रहरी परिसर टुेकमा आकस्मिक बैठक भएको थियो ।
राष्ट्र बैंक र बैंकरहरूले घटनाको सत्यतथ्य बाहिर ल्याइदिन प्रहरीलाई आग्रह गरेका छन् । सर्भर दुरुपयोग र फर्जी कागज बनाएर रकम चोरिएको भेटिएपछि प्रहरीले सम्बन्धित बैंकहरूबाट खाता, एटीएम र चेकबुक जारी गर्नेसहित विभिन्न तहका कर्मचारीमाथि अनुसन्धान थालेको छ ।
पक्राउ परेकाहरूलाई काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थपेर हिरासतमा राखी अनुसन्धान भइरहेको छ । पक्राउ परेका कर्मचारीहरूको विवरण भने अनुसन्धानमा असर पुग्ने भन्दै प्रहरीले गोप्य राखेको छ । प्रहरीका अनुसार यसअघि अन्य बैंकको सिस्टम ह्याक र फर्जी कागज प्रयोग गरेर अनधिकृत रूपमा पैसा झिकिएको भए पनि एकैपटक डेढ दर्जन बैंक गिरोहको निसाना परेको यो पहिलो घटना हो । विभिन्न बैंकबाट गरेर कति रकम चोरी भएको हो भन्ने विवरण प्रहरीले खुलाइसकेको छैन । कान्तिपुर दैनिकमा खबर छ ।










