१६ बैशाख– कांग्रेस सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री भएपछि एकै चरणमा स्थानीय तहको चुनाव गर्नेगरी सघाउन एमाले अध्यक्ष केपी ओलीसमक्ष प्रस्ताव राखेका छन् । शनिवार बिहान सवा ११ बजे ओली निवास बालकोट पुगेका देउवाले आफूसँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई पनि लगेका थिए ।
बैशाख ३१ गते एकै चरणमा स्थानीय तहको चुनाव गर्नु पर्ने अडान राख्दै आएको एमालेका अध्यक्ष ओलीलाई भेटेर देउवाले बैशाख ३१ गते चुनाव नभए आफ्नो नेतृत्वमा नयाँ सरकार बनाएर जेठ ३१ गते एकै चरणमा चुनाव गर्ने प्रस्ताव राखेका हुन् । शुक्रवार प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वदलीय बैठकमा पहिलो चरणको चुनाव गर्न प्राविधिक कठीनाई रहेको वताएपछि देउवा जेठमा हुने भनिएको दोस्रो चरणको चुनाव अगावै आफू प्रधानमन्त्री हुने सुरक्षित बाटो खोजिरहेका छन् । माओवादीसँग भएको सहमति अनुसार प्रधानमन्त्री दाहालले स्थानीय चुनाव गराएपछि देउवा प्रधानमन्त्री बन्ने बाटो खुल्छ । तर, पहिलो चरणको चुनावै नभए दाहालले सरकार छोड्न आनाकानी गर्लान् कि भन्ने आशंका कांग्रेस भित्र छ ।
देउवाले बैशाख ३१ गतेको चुनाव नभए आफ्नो नेतृत्वमा सरकार गठन गरेर चुनाव गर्ने वताएपछि ओलीले बैशाख ३१ गते नै एकै चरणमा चुनाव गर्नु पर्ने, त्यसका लागि निर्वाचन आयोगले तयारी पनि गरेको र यदि दुई चरणमै गर्नु पर्ने भए जेठ १५ अगावै गर्नु पर्ने वताएका थिए । ‘गत मंसिरमै स्थानीय तहको चुनाव हुनु पथ्र्याे त्यसलाई टार्नु भो, चैतमा गर्छाैं भन्दै हुनुहुन्थ्यो, गर्नु भएन । बैशाख ३१ गते तोक्नु भो, फेरि अनेक बहाना गरेर दुई चरण भन्नु भो । अव फेरि पहिलो चरणको सारौं भन्नुहुन्छ’ ओलीले भने, ‘चुनाव गर्नु पर्छ मुखले मात्रै भन्नु भाको हो कि ? चुनाव बैशाख ३१ गते एकै चरणमा गर्नु पर्छ ।’
देउवाले संविधान संशोधनमा सघाउन ओलीसँग आग्रह गरे । तर, एमाले अध्यक्ष ओलीले संशोधन प्रस्ताव अनुपयुक्त, देशहित विपरित विपरित र चुनाव रोक्ने अभिप्रायले आएको भन्दै समर्थन गर्न नसकिने वताए । वार्तामा अध्यक्ष ओली सहित उपाध्यक्ष युवराज ज्ञवाली र महासचिव ईश्वर पोखरेल पनि सहभागि छन् ।
-चक्रपथ बाट



