आसन्न प्रतिनिधिसभा उपनिर्वाचनको प्रचारका क्रममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामा गरेको भाषणलाई लिएर कांग्रेस आक्रोशित बनेको छ ।
कास्की क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई लिएर प्रचण्डले गरेको टिप्पणीको आलोचना भइरहेको छ ।
कांग्रेसले पौडेललाई ‘देवघाट पठाउने उमेरमा सांसद’ उम्मेदवार बनाएको भनेर प्रचण्डले टिप्पणी गरेको भन्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रचण्डलाई उल्टै प्रश्न गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै विश्वप्रकाशले प्रचण्डको उचाइ र उमेरले यस्तो टिप्पणी गर्नु शोभनीय नभएको बताएका छन् । ७० वर्षे उमेरका पौडेललाई कांग्रेसले उम्मेदवार बनाएकोतर्फ व्यंग्य गर्दै प्रचण्डले बुढेसकालमा धर्मकर्म गर्न जाने क्षेत्र देवघाटसँग जोडेर पौडेलमाथि टिप्पणी गरेका थिए ।
त्यसको जवाफ दिँदै प्रवक्ता विश्वप्रकाशले लेखेका छन्, ‘ देवघाट पठाउने उमेरमा सांसद ? प्रचण्डले आज पोखरामा भन्नू’भो ! कमरेड यहाँको उचाई र उमेरले यस्तो बोल्नु शोभनीय हो ? ७० कटेका ट्रम्प अमेरिकाको राष्ट्रपति बन्न मिल्ने, ७० कै हाराहारीका केपी कमरेड प्रधानमन्त्री बन्न मिल्ने, अनि त्यस्तै उमेरमा खेमराज गुरुले सांसद बन्न चैं किन नमिल्ने ?’
पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले भनेका थिए, ‘हाम्रो प्रधानमन्त्रीलाई कहिलेकाहीँ बिदा दिनुपर्छ भनेकाहरूले विचरा ७७ वर्षका बुढालाई अघि सारेका छन् । जो अब देवघाटतिर जानुपर्ने बेलाका छन् । त्यहाँ गएर ध्यान र ज्ञान सिक्नुपर्ने मान्छेलाई आफू अघि सार्ने, अनि ६५ वर्षको जवानलाई रेस्ट गर्ने भन्न मिल्छ त ?’
https://twitter.com/bishwaprakash77/status/1199615559144329217
लोकान्तर बाट साभार गरिएको










