पोखरा: नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गैर राजनीतिक चरित्र प्रदर्शन गरेको बताएका छन् । पोखराको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले सभापति देउबाले भ्रम छर्ने र उटपट्याङ कुरा गरेको बताए ।

‘शेरबहादुरजी पोखरा आएर झुठो बोल्नुभयो। घाम लागेको बेला हत्केलाले सूर्य छेक्ने काम गर्नुभयो,’ उनले भने, ‘उहाँको बोलीले कास्की २ मा विद्या भट्टराईको जित सुनिश्चित भएको छ।’ देउवाको कुरा के…गर्नेलाई भन्दा हेर्नेलाई लाज भनेजस्तो भएको प्रचण्डको भनाइ थियो। उनले गिरिजाप्रसाद कोइरालाको पार्टी झुठ बोल्ने र बेइमानी पार्टी भएकोमा चिन्ता लागेको बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘गिरिजाप्रसादको पार्टी झुठो बोल्ने, बेइमानी गर्न छोड्नुस् भन्ने मेरो सुझाव छ,’ उनले भने, ‘झुठो बोलेर दिउँसै रात पार्नेरु शेरबहादुरजीले यस्तो उट्पट्याङ गर्ने ?’ उनले प्रतिपक्षी दल राम्रो होस् भन्ने आफूले चाहेको पनि बताए। ‘तपाईंहरू ओरालो लाग्नुभएको छ, कांग्रेस इतिहास होला ? के कांग्रेस इतिहासको कथा बन्न चाहेको हो ?,’ प्रचण्डले भने,‘सल्लाहले नक्सा छापेको हो भन्दा लाजमर्दो कुरा हो। म कांग्रेसका साथीहरूलाई सुझाव दिन चाहन्छु, तपाईंहरू एकचोटी गहिरो गरी आत्मसमीक्षा गर्नुस्।’

उनले कांग्रेस संविधान निर्माणको सहयात्री भएकाले साह्रै तल खसेको आफूले हेर्न नसक्ने भए। ‘गिरिजाप्रसाद कोइरालासँग शान्ति सम्झौतामा मैले हस्ताक्षर गरेको छु। त्यही गिरिजाप्रसाद कोइरालाको पार्टी यति झुठो बोल्ने बेइमानी कुरा गर्दा कताकता चिन्ता लागेको छ,’ प्रचण्डले भने,‘झुठो बोल्न बेइमानी गर्न छोड्नुस्। होइन भने तपाईंहरू जसरी ओरालो लाग्नुभएको छ यही बुद्धि हो भने इतिहासमा नेपाली कांग्रेस थियो भन्ने ठाउँमा पुग्न बेर छैन।’

पराजित मानसिकताका कारण सभापति देउवाले यस्तो अभिव्यक्ति दिएको उनको भनाइ थियो । ‘शान्ति प्रक्रिया र संविधान निर्माणसँग जोडिएको कांग्रेस इतिहासमा किम्बदन्ती बन्ने चिन्ता भयो’ दाहालले भने, ‘कांग्रेस भन्ने पार्टी पनि थियो भन्ने अवस्था नआओस् ।’ ‘गिरिजाबाबुले ल है नेपाल तपाईंको जिम्मा लगाएर जाँदैछु भनेको झलझली सम्झेको छु। अहिले शेरबहादुरजीले यस्तो उट्पट्याङ कुरा गरेर नेपाली जनतालाई उल्लु बनाउन खोजेको देखेर टिठ लागेको छ,’ प्रचण्डले भने।

‘दुई ठूला कम्युनिष्ट पार्टीले ठूलो जोखिम लिएर पार्टी एकता नगरेको भए मुलुकमा राजनीतिक स्थिरता आउने थिएन,’ उनले भने, ‘दुई ठूला कम्युनिष्ट पार्टीबीच एकता भएकै कारण मुलुकमा ७० वर्षपछि राजनीतिक स्थायित्व संभव भएको हो।’

पार्टी एकता भएपनि पाँच वर्षसम्म यो सरकार चल्छ की चल्दैन भन्ने आशंका कायम रहेको अवस्थामा नेकपा सचिवालय बैठकले त्यो अन्योलतालाई अन्त्य गरेको प्रचण्डको भनाइ थियो। नेकपा सचिवालय बैठकले पाँच वर्षसम्म वर्तमान प्रधानमन्त्री ओलीले नै सरकारको नेतृत्व गर्ने र कार्यकारी अध्यक्ष प्रचण्डलाई बनाउने निर्णय गरेको थियो।

उनले कम्युनिष्ट पार्टीले नै मुलुकमा पहिलो महिला राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख बनाएको उल्लेख गर्दै केही समयपछि मुलुकमा महिला प्रधानमन्त्री बन्यो भने त्यो पनि कम्युनिष्ट पार्टीले नै बनाउने दाबी गरे।