प्रमोद कुमार साह जनकपुरधाम । श्रीरामजानकी विवाहपञ्चमी महामहोत्सवमा सहभागी हुन भारतको अयोध्याबाट हिँडेको जन्ती बिहीबार ऐतिहासिक धार्मिक तथा सांस्कृतिक नगर जनकपुरधाम आइपुगेको छ ।

जनकपुरधाममा मनाइने विवाह महोत्सवमा सहभागी हुन भगवान श्रीरामको नगर अयोध्याबाट मंसिर ५ गतेका दिन हिँडेका साधु सन्तसहितको जन्ती बिहीबार जनकपुरधाम आइपुगेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पाँच सयभन्दा बढीको संख्यामा आएका जन्तीलाई मठिहानी, जलेश्वर र पिपरालगायतका ठाउँमा स्वागत गरिएको थियो । जनकपुरधाममा भने नगर परिक्रमासहित स्वागत गरिएको छ । जनकपुरधाममा प्रवेश गर्दा धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले स्वागत गर्नुभयो ।

त्रेता युगमा सीतासँग विवाहका लागि आएको भगवान रामको जन्तीको स्मरणमा प्रत्येक वर्ष अयोध्याबाट विवाह पञ्चमीको अवसरमा सयौँको संख्यामा जन्ती आउने गर्छन् ।

अयोध्याबाट आएका जन्तीलाई शुक्रबार जनकपुरधामस्थित रंगभूमि मैदान बाह्र बिघामा हुने विशेष कार्यक्रमकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारी अयोध्याबाट आएका जन्तीलाई स्वागत गर्न शुक्रबार जनकपुरधाम आउने कार्यक्रम रहेको छ ।

यता विवाह पञ्चमीको साप्ताहिक कार्यक्रम अन्तर्गत पहिलो दिन नगर दर्शन, दोश्रो फूलबारी लिला सम्पन्न भइसकेको छ भने बिहीबार तेश्रो दिन धनुषयज्ञ आयोजना भएको छ । त्यसैगरी चौथो दिन मंसिर १३ गते तिलकोत्सव, १४ गते मटकोर, १५ गते विवाह पञ्चमी उत्सव मनाइने छ भने सातौँ दिन रामकलेवा गर्दै जन्तीलाई बिदाइ गरी महोत्सव सम्पन्न हुनेछ ।