काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे तथ्यभन्दा पनि अतिरञ्जित कुरा बढि मिडियामा आएको भन्दै गुनासो पोखेका छन् । शुक्रबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै उनले मिडियालाई जिम्मेवार र उत्तरादायी पत्रकारिता गर्न आग्रह गरे । उनले भने,‘प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था सन्तोषप्रद ढंगले तिव्र गतिमा सुधार भएको छ । आज प्रधानमन्त्रीज्यूको निजी चिकित्सक र उहाँको उपचारमा संलग्न आधा दर्जन चिकित्सकहरुले पत्रकार सम्मेलन गरेर यथार्थ जानकारी गराउनुभएको छ । उहाँको अहिलेको स्थिति के छ ? भन्नेबारे उहाँहरुले सत्य, तथ्य सार्वजनिक गर्नुभएको छ । अर्को हप्ता उहाँ डिस्चार्ज हुनुहुनेछ ।’

साक्षात्कारमा बोल्दै उनले भने, ‘प्रधानमन्त्रीले एपेन्डिसाईटिसको समस्या आकस्मिक रुपमा भोग्नुभयो । अहिले उहाँ पूर्ण स्वास्थ्य लाभको दिशामा अघि बढ्नुभएको छ । तर, सञ्चारमाध्यमबाट बढो तिलस्वी ढंगले, बढो नयाँ तथ्य प्राप्त गरेजस्तोगरि, बढो खोज गरेजस्तोगरि जे तथ्यहरु आएका छन्, ती सान्दर्भिक छैनन् ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले प्रधानमन्त्री ओली जेलमा हुँदापनि असाध्यै विरामी भएर निकै जीवन–मरणको दोसाँधबाट त्यो चरण पार गरेर २०४४ सालमा रिहाई भएको स्मरण गराए । थापाले थपे,‘उहाँको स्वास्थ्य समस्या अकस्मात् रुपमा वा अहिले अस्पताल भर्ना भएर देखापरेको होइन् । उहाँले ४०, ४२ वर्षदेखि विभिन्न रोगहरुको सामना गर्दै आउनुभएको छ । वितेका १२ वर्षयता त उहाँले मिर्गौला प्रत्यारोपण गरिसकेर यहाँसम्म आइपुग्नुभएको छ । उहाँले किड्नी ट्रान्सप्लान्ट गरेको १२ वर्ष भैसक्यो । यसबीचमा अहिले भर्खरै यो किड्नीको समस्या देखापरेको जस्तोगरि कथा बुन्नुभएन् ।’

उनले प्रधानमन्त्रीको स्वास्थ्यअवस्थाबारे कथाहरु बुनिएको भन्दै गुनासो पोखे । उनले भने, ‘कथा त चलचित्रलाई काम लाग्छ । तर, व्यवहारिक जीवनलाई त्यसले काम दिँदैन् । प्रधानमन्त्रीज्यू अस्पतालमा भर्ना हुनासाथ सिर्जना गरिएका डर र आतंकबाट पनि मिडिया अलि सच्चिनुपर्छ ।’

एपेन्डिसाईटिसको शल्यक्रिया सामान्य कुरा भएको बताउँदै उनले यसलाई अतिरञ्जित गर्न नहुने सुझाव दिए । उनले भने,‘प्रधानमन्त्रीज्यूलाई पनि राति १ बजे पेट दुख्यो । ८ बजे अस्पताल लगियो, १२ बजे त शल्यक्रिया भैसकेको थियो । एपेन्डिसाइटिसको शल्यक्रिया भएको छ तर, मिर्गौला प्रत्यारोपण गरिएको जस्तोगरि प्रचार गरिन्छ । जुन गलत हो । अतिरञ्जना हो । ट्विस्ट हो । यसरी चाहीँ आमसञ्चार क्षेत्र बहकिनुहुन्न । विषयलाई ट्विस्ट गर्न हुन्न । जे हो, त्यही समाचार लेख्नुपर्यो । प्रधानमन्त्रीको स्वास्थ्य स्थिति भयंकर छ भनेर भन्नुभएन ।’

त्यस्तै, अस्पतालका एकजना चिकित्सकले पनि आतंक सिर्जना गरेको उनको टिप्पणी छ । उनले भने, ‘उहाँका सबै अंग काम लाग्न नसक्ने हुनसक्छ भनेर आतंक मच्चाइएको छ । उहाँलाई संक्रमण नहोस भनेर भेन्टिलेलटरमा राखिएको हो । जनताको शुभेच्छाले उहाँ अहिले यो समस्याबाट पार भएर, संक्रमणबाट पार भएर आउनुभएको छ । उहाँ अहिले पनि सघन उपचार कक्षमा हुनुहुन्छ । अबको केही दिनपछि उहाँ पूर्ण स्वास्थ्यलाभ गरेर डिस्चार्च हुनुहुनेछ ।’

उनले मिडियामा गलत समाचार आएकोप्रति आक्रोश र असन्तुष्टिमात्रै पोखनन् वैयक्तिक स्वतन्त्रतासम्बन्धी व्यवस्था गर्न बनेको ऐन–२०७५ पनि पत्रकारहरुलाई सुनाए । उनले भने,‘नेपालमा एउटा कानून छ वैयक्तिक स्वतन्त्रतासम्बन्धी व्यवस्था गर्न बनेको ऐन–२०७५ । त्यसले व्यक्तिका व्यैक्तिक स्वतन्त्रताहरुको संरक्षण गरेको छ । के–के कुरा गर्दा त्यो उल्लंघन हुन्छ, अतिक्रमण हुन्छ र कारबाही हुनसक्छ भन्ने सन्दर्भमा पनि यसमा व्यवस्था गरेको छ । मिडियाले यसलाई कार्यव्यवहारमा उतार्नु जरुरी छ भन्ने ध्यानाकार्षण गर्न चाहन्छु ।’

उनले प्रधानमन्त्री ओली डायलासिस गर्न गएपछि पनि आतंक मच्चाईएको टिप्पणी गरे । उनले आफूहरुले ‘मिडिया–एक्सेस’ राम्रो दिएको पनि स्पष्ट पारे । उनले भने,‘हामीले मिडिया एक्सेस दिएका छौं । केही सामरिक महत्वका बैठक र निर्देशनबाहेक हामीले मिडियालाई राम्रो पहुँच दिएका छौं । मिडियाले समिक्षा बैठकपनि लाईभ खिच्न पाएका छन् । प्रवन्ध गरिएको छ । गोप्य बैठक भए भनेपनि मिडियालाई ब्रिफ गरिएको छ ।’

उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरुले खासगरी अस्पतालले हरेक दिन विहान १० बजेको हाराहारी र बेलुका ७ बजेको हाराहारीमा विज्ञप्ति निकालेर मिडियामार्फत जनतालाई जानकारी गराएको स्पष्ट पारे । तर, उक्त विज्ञप्तिमार्फत समाचार नछापिएको उनको गुनासो छ ।

अर्को एक प्रसंगमा उनले प्रधानमन्त्री ओलीकै सहमतिमा भारतले नयाँ नक्शा सार्वजनिक गरेको हो भनेर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दिएको अभिव्यक्ति तथ्यहिन र गलत भएको थापाले टिप्पणी गरे । उनले भने,‘यो उहाँको चुनावी सनक हो ।

सन् १९९६, १९९७ मा देउवा प्रधानमन्त्री हुँदा भारतले यस्तै नक्शा सार्वजनिक गरेको थियो । त्यो बेला उहाँ बोल्नुभएन । के हामीले तपाईको सहमतिमा भएको रहेछ ? भनौं । प्रधानमन्त्रीले सर्वपक्षीय÷सर्वदलीय बैठकमा बजारमा यस्ता धेरै कागजहरु आउँछन्, त्यसको कुनै अर्थ छैन भन्नुभयो । परराष्ट्र मन्त्रालयले पनि विज्ञप्ती निकालेर एकतर्फी नक्शा मान्दैनौं भनिसकेको छ । त्यो केवल कागजको खोस्टो हो । यसको खण्डन, मण्डन गर्न जरुरी छैन् । यसको पूर्णतः खारेज गर्नुपर्छ ।’ रातो पाटि बाट साभार