श्रीमान्‍को निधनपूर्व भट्टराई सक्रिय राजनीतिमा थिइनन् । उनी त्रिविमा प्राध्यापन पेसामा सक्रिय थिइन् । उपनिर्वाचनमा उनलाई कास्की जिल्ला पार्टीले एकल उम्मेदवारका रूपमा प्रस्तुत गरेको थियो । सुरुमा उम्मेदवार बन्न अनिच्छुक देखिए पनि पार्टीको दबाबले सक्रिय राजनीतिमा उनको पुनरागमन भएको हो । ०२९ कात्तिक २९ मा काठमाडौंमा जन्मिएकी भट्टराई १२ वर्षकै उमेरमा राजनीतिमा होमिएकी थिइन् ।

पशुपति मित्र मावि चाबहिल काठमाडौंमा ७ कक्षामा पढ्दै गर्दा उनी अनेरास्ववियुमा आबद्ध भएकी थिइन् । ०४५ मा भारतले लगाएको नाकाबन्दीविरुद्ध आन्दोलनका कार्यक्रममा विभिन्न स्कुलमा विद्यार्थीलाई संगठित पारेकी उनी ०४७ मा पद्मकन्या क्याम्पसको प्रारम्भिक कमिटीमा आबद्ध भइन् । त्यही वर्ष अखिल नेपाल महिला संघ जिल्ला समिति काठमाडौंको कोषाध्यक्षमा निर्वाचित उनी जनसांस्कृतिक परिवारको सदस्य हुँदै तत्कालीन नेकपा एमालेको संगठित सदस्य बनेकी थिइन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

०४८ मा अनेरास्ववियु जिल्ला कमिटी सदस्यको हैसियतमा राष्ट्रिय परिषद्मा निर्वाचित भट्टराई त्यही वर्ष एमालेको वडा कमिटी सदस्य बनेकी थिइन् । उनी ०४९ मा पद्मकन्या क्याम्पसमा स्ववियु सभापतिको उम्मेदवार बनिन् । ०५० बाट अनेरास्ववियु महिला विभाग प्रमुखका रूपमा सक्रिय भइन् । ०५५ मा अनेरास्ववियुको केन्द्रीय सचिव भइन् । अनेरास्ववियुको एउटै कमिटीमा रहेका बेला रवीन्द्र अधिकारीसँग उनको विवाह भयो । ०५६ असार २६ मा उनको बिहे भएको थियो । केही समयपछि उनी सक्रिय राजनीति छाडेर प्राध्यापनतर्फ लागिन् । ०५८ मा पोखराको पृथ्वीनारायण क्याम्पसबाट प्राध्यापन थालेकी उनी चुनावमा होमिनुअघि त्रिविमा उपप्राध्यापक थिइन् । कान्तिपुर बाट साभार गरीएको