सानो छँदा स्वरसम्राट नारायणगोपालका फ्यान थिए, रामकृष्ण ढकाल । नारायणगोपालकै गीत आफ्नो कण्ठमा उतार्थे । तर, ०४३ सालपछि ढकाल औपचारिक रूपमा आफैँ गायक भए । ५० को दशकपछि कैयौँ श्रोता ढकालकै फ्यान बन्न थाले । नेपाली आधुनिक, पप र प्लेब्याक गीतमा चर्चित गायकको छवि बनाएका ढकालको स्वरमा भुतुक्कै हुने कैयौँ फ्यान छन् । तर, ढकाल पनि कैयौंँ व्यक्तिका फ्यान हुन् । स्वर, संगीत र कलाको क्षेत्रका केही चर्चित व्यक्तिसँगका पल उनको जीवनमा खट्किएका रहेछन् । कृष्ण कट्टेलसँग गायक ढकालले सुनाएका छन् :
आशा भोस्लेलाई एल्बम दिन सकिनँ
अभिनेता भुवन केसीले बनाएको फिल्म ‘नेपाली बाबु’मा मैले ‘बदाम सोलीमा, आएको ए हजुर रमझम टोलीमा’ बोलको गीत गाएको थिएँ । ०५६ सालतिरको कुरा हो । त्यो वेला नेपाली फिल्मका गीत प्रायः बम्बईमा रेकर्ड गरिन्थ्यो । गीत रेकर्ड गरेर गायिका साधना सरगमसहित टिमसँग बम्बईबाट नेपाल फर्किंदै थिएँ ।
नेपाल एयरलाइन्सले बम्बई–काठमाडौं सीधा उडान भथ्र्यो । मेरो सिटको आडैमा निर्माता छवि ओझा हुनुहुन्थ्यो । त्यही फ्लाइटमा भारतकी चर्चित गायिका आशा भोस्ले र गायक कुमार कान्छा पनि थिए । त्यो समयमा मैले ‘आशा’ एल्बम निकालेको थिएँ ।
आशाको फ्यान नै थिएँ म । मेरो एल्बम पनि आशा नै थियो । मैले यही मौकामा उहाँलाई आफ्नो एल्बम दिन्छु भन्ने सोच बनाएँ । त्यस्ती चर्चित गायिकालाई एल्बम दिँदा उहाँले सुन्नुहोला र करिअरमै सहयोग पुग्ला भन्ने सोचले मलाई उत्तेजित गराएको थियो । यसबारे मैले छवि ओझालाई बताएँ । तर, उहाँले मेरो उत्तेजना सेलाउने जवाफ दिनुभयो । ‘यत्रो ठूलो मान्छेले कहाँ तपाईंको गीत सुन्नु, त्यो पनि नेपाली भाषाको । कतिले दिएका खाटमुनि फालेकी होलिन्’ भन्नुभयो । छविको यो कुराले मेरो मन हच्कियो ।
रमाइलो कुरा त के भने, खराब मौसमका कारण जहाज काठमाडौंमा ल्यान्ड हुन सकेन । दिल्लीतिरै फर्कियो । त्यो एक रात दिल्लीको ‘सेन्ट्रल’ होटेलमा बस्यौँ । आशा भोस्ले पनि त्यही होटेलमा बस्नुभएको थियो । खाना खाने वेला फेरि आशा भोस्लेसँग नजिकै परेँ । अब त जसरी पनि बोल्छु भन्ने आँट निकालेँ । तर, फेरि छविले ‘हे यार ! उनलाई के मतलब ? तिमीलाई चिन्दिनन् त किन यो काम
गर्छौ ?’ भन्नुभयो । म फेरि सेलाएँ ।
भोलिपल्ट फेरि एउटै जहाजमा काठमाडौंका लागि उड्यौँ । तर, छविको कुरा र आफ्नो कमजोर आत्मबलका कारण आशा भोस्लेलाई एल्बम दिने धोको अधुरै रह्यो । नजिकको यात्रामा त्यत्रो सेलेब्रिटी हुँदा पनि भेटेर बोल्न सकिएन । मलाई त्यो कुराले अहिले पनि थकथक लाग्छ । आशा भोस्लेसँगको त्यो क्षण मेरो जीवनमा खट्कियो । छवि ओझाले आँट थपिदिएको भए पक्कै बोल्थेँ ।
गोपाल योञ्जनको संगीतमा एल्बम निकाल्न पाइनँ
चर्चित संगीतकार गोपाल योञ्जन दाइको ‘प्रोजेक्ट’मा गीत गाउने मौका पाएँ । ‘मेरो टोपी कैलाशको शिरजस्तो’मा धेरै गायक छन्, म पनि अटाएको छु । गीतको एउटा ‘पार्ट’ म र यम बरालले गाएका छौँ । गोपाल दाइसँग अरू थुप्रै काम गरेँ । राजारानीको जन्मोत्सवदेखि विभिन्न पर्वमा उहाँसँगै हुन्थेँ ।
तर, आशीर्वाद एल्बममा उहाँको एउटा ट्युन हाल्न मन थियो । ०४९ तिरको कुरा हो । उहाँ त्यो वेला धापासीतिर बस्नुहुन्थ्यो । धापासी पुग्न खेतैखेत हिँडेर पुग्नुपर्ने, जंगलको छेउजस्तो थियो । हामी साइकल चढ्थ्यौँ । उहाँ शान्त स्वभावको हुनुहुन्थ्यो । विभिन्न समस्याले त्यो रहर पूरा हुन पाएन । ०५० मा त एल्बम नै आयो । मलाई मनपर्ने संगीतकारसँग विभिन्न कार्यक्रममा भेट भए पनि एक्लै भेटेर आफ्नो लागि संगीत भरिदिन आग्रह गर्ने सोच थियो । त्यति सामीप्यमा भएर पनि यो काम गर्न सकिनँ । यो मानेमा गोपाल योञ्जनसँग गर्न चाहेको यो काम मेरो जीवनमा खट्किएको छ ।
माइकल ज्याक्सनको नाममा नक्कलीको रमिता
१९९५ या ९६ मा कुनचाहिँ सालको नयाँ वर्ष हो ठ्याक्कै याद भएन । तर, ‘न्यु इयर इभ’को दिन मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मीरा राणा, प्रकाश श्रेष्ठ, किरण केसीसहितको टोलीमा हङकङ हुँदै ब्रुनाई सोमा गएको थिएँ । त्यहाँ एउटा महत्वपूर्ण लाइभ सो हेर्ने मौका मिल्यो । पप सम्राट माइकल ज्याक्सनको प्रस्तुति हुँदै थियो ।
ब्रुनाईका कान्छा सरकार संगीतको सौखिन हुनुहुँदो रहेछ । उहाँतत्कालीन समयको अर्थमन्त्री पनि हुनुहुन्थ्यो । विभिन्न मुलुकका ठुल्ठूला कलाकारलाई घरमै बोलाउने, गीत सुन्ने तथा सांगीतिक कार्यक्रम गर्ने गर्नुहुँदो रहेछ । त्यो वर्ष न्यु इयर इभको अवसरमा माइकल ज्याक्सनलाई निमन्त्रणा गरेर सित्तैमा प्रस्तुति हेर्ने मौका मिलाउनुभएको रहेछ ।
ब्रुनाईका कान्छा सरकारको बडिगार्डमध्ये एकजना कृष्णराज गुरुङ भन्ने नेपाली हुनुहुन्थ्यो । कृष्णराजको बहिनीलाई मैले चिनेको थिएँ । हामी हङकङ हुँदै ब्रुनाई गएको थाहा पाएपछि कृष्णराजको बहिनीले कृष्णराजसँग सम्पर्क गरेर ‘स्पेसल ग्रेड’को चारवटा पास पठाइदिनुभएको रहेछ । त्यसपछि किरण केसी दाइसित म त्यो सो हेर्न गएँ । ‘फ्रन्ट रो’मै बसेर ‘सो’ हेर्ने मौका मिल्यो ।
माइकल ज्याक्सनसँग फोटो खिच्न पाए हुन्थ्यो भन्ने रहर कार्यक्रम हेर्दा नै पलाइसकेको थियो । माइकल ज्याक्सनको क्रेज कत्रो थियो । १५–२० जना केटी त ‘आइ लभ यु माइकल’ भन्दै ठाउँको ठाउँ पुर्लुक्कै ढलेर बेहोस भए । तत्काल एम्बुलेन्सले ओसार्यो । सेलेब्रिटीको त्यतिधेरै क्रेज पहिलोपटक त्यहीँ देखेँ ।
त्यो समयमा मोबाइल आएकै थिएन । मैले क्यामेरा लगेको थिएँ । माइकलको सो सकिनै लाग्दा फोटो खिच्न अघि बढेँ । क्यामेरा झिकेर क्लिक गर्न लागेको मात्रै थिएँ, ब्याट्री सकिएर ‘अफ’ भयो । ब्याट्री खोज्ने माहोल पनि भएन । ‘सो’ सकिएपछि बाहिर निस्कियौँ ।
बाहिर फेरि देखिए, माइकल ज्याक्सन । सबैसँग बोलिरहेका, फोटो खिचिरहेका, अटोग्राफ भरिरहेका अवस्थामा देखिए । म पनि भीडमा छिरेँ । बोल्न र अटोग्राफ लिन अगाडि सरेँ । तर, उत्तिखेरै थाहा भयो, ऊ त ‘डुब्लिकेट’ माइकल ज्याक्सन पो रहेछ । ‘रियल’ माइकल ज्याक्सन निस्किने क्रममा समस्या हुन्छ भनेर चारैतिर ‘डुब्लिकेट’ ज्याक्सनहरू खटाइँदो रहेछ । मान्छेहरू नक्कली ज्याक्सनतिरै झुम्मिन थालेपछि सक्कली ज्याक्सनले चाहिँ बडिगार्डसहित सुरक्षित बाटो तताएछन् । त्यहाँ पनि ज्याक्सनसँग फोटो खिच्ने इच्छा अधुरै रह्यो ।
अमिताभ बच्चनसँग फोटो खिच्न पाइनँ
फिल्मको गीत रेकर्डकै क्रममा बम्बई जाँदा बलिउड अभिनेता अमिताभ बच्चन सहभागी कार्यक्रममा पुगेको थिएँ । ‘बाचुन्जेलीलाई’ हो या ‘पहाडको छुकछुके रेल’मध्ये एउटा गीत रेकर्ड गर्न जाँदाको कुरा हो । त्यहाँ ठुल्ठूला कार्यक्रम आयोजना गर्ने देभेन शाहले ‘लक्स ब्युटी कन्टेस्ट’को कार्यक्रममा मलाई पनि निम्ता गर्नुभएको थियो । त्यहाँ अमिताभ र जया बच्चनलगायत आउनुभएको थियो । मनमा रहर पलाइसकेको थियोे, कार्यक्रम सकिएपछि अभिताभलाई भेटेर फोटो खिच्नेछु ।
अभिताभलाई एकोहोरो हेरिरहेको म कार्यक्रम सकिएलगत्तै हुत्तिएर उनको पाइला पछ्याउन थालेँ । निकै भीड थियो । केही मानिसले अमिताभलाई घेरे । यहीवेला उहाँ फ्यानहरूसँग फोटो खिच्न र अटोग्राफ दिन सक्रिय हुनुहुन्थ्यो । तर, नजिक पुगेपछि मेरा पाइला अगाडि सरेनन् । खोइ के भयो ! ‘म रामकृष्ण ढकाल, नेपालको गायक हुँ’ भनेको भए पक्कै फोटो खिच्न समय दिनुहुन्थ्यो होला । तर, मलाई अप्ठ्यारो महसुस भयो । ‘यो नेपालको राम्रो गायक हो’ भनेर अमिताभसामु भनिदिएको भए ममा आँट आउँथ्यो । म नि त सानै देशको भए पनि सेलेब्रिटी नै हुँ भन्ने सोचले त्यो मौका ‘मिस’ गरेँ । अहिले त्यो क्षण खट्किएको महसुस हुन्छ । सम्झना आइरहन्छ ।
ब्रायन एडम्सको कन्सर्टमा नजाँदा पछुतो
रक गायक र संगीतकारको हैसियतमा बढी चिनिएका ब्रायन एडम्सका अरू पनि परिचय छन् । क्यानेडियन एडम्स विश्वकै चर्चित गायक हुन् । मौका मिले उनीसँग नभेट्ने भन्ने त कुरै भएन । करिब ६ वर्षअघि एडम्स नेपाल आएका थिए । उनी आउने चर्चासँगै ठूलो चहलपहल थियो ।
मलाई पनि उनीसँग भेट्ने उत्कट चाहना जाग्यो । तर, सेलेब्रिटी भएपछि एउटा ‘इगो’ले काम गर्ने रहेछ । त्यो कमर्सियल सो थियो । तर, कलाकारको मनले अरू कुरा पनि सोच्दो रहेछ । अन्य कलाकारले आ–आफ्नो प्रस्तुति दिनुभयो । मेरो भने प्रस्तुति थिएन । हजारौँ दर्शकको बीचमा प्रस्तुति दिने मलाई एउटा सामान्य दर्शक भएर भीडभाडमा जान मन नै मानेन । त्यहाँबाट एउटा ‘इन्भिटेसन’ मात्रै पठाइदिएको भए पनि गइन्थ्यो । खासमा जान मन थियो, तर यस्तै कारणले जान पाइएन । ब्रायन एडम्ससँग भेट्ने रहर, रहरमै सीमित भयो । उनीसँग भेट्ने इच्छा मेरो जीवनमा अहिले पनि खट्किरहन्छ ।
मेघा मालतीलाई भेट्नै पाइनँ
मेघा मालती मेरी फ्यान हुनुहुन्थ्यो । उहाँको घर सिक्कम थियो । मेरो गीतबारे धेरै कुरा लेखेर चिठ्ठी पठाउनुहुन्थ्यो । ०५२ सालतिरको कुरा हो । त्यसपछि करिब चार वर्षजति उहाँसँग चिठ्ठीपत्र आदान–प्रदान भयो । तीन–चार पाना लामो चिठी पठाउनुहुन्थ्यो । फोटो पनि पठाउनुहुन्थ्यो । आशीर्वाद एल्बम निस्किँदा उहाँले सल्लाहसुझाब दिनुभएको थियो । नाम्चे, सिक्किमको ठेगानाबाट चिठी लेख्नुहुन्थ्यो । तर, उहाँसँग भेट हुनै पाएन । पछि चिठीपत्रको परम्परा पनि टुट्यो । उहाँले पनि बिहे गरेर घरजम गर्नुभयो होला । पछि म सिक्किमको नाम्चे गएँ, तर उहाँसँग भेट भएन ।
उहाँले फलो गरे पनि मैले समयको अभावमा कयौँपटक जवाफ फर्काउन पाइनँ । अन्ततः सम्पर्क नै टुट्यो । मेरो त्यतिधेरै चासो राख्ने शुभचिन्तकलाई एकपटक भए पनि भेट्छु भन्ने आशा थियो । तर, पूरा हुन सकेन । मेघा मालतीलाई भेट्न नपाउनु मेरो जीवनमा खट्किएको अर्को विषय हो ।
नयाँ पत्रिका



