झापा । झापाको बिर्तामोड नगरपालिका ५ स्थित पूर्व पश्चिम राजमार्गबाट तीन जना लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय अनारमनिबाट गस्तीमा खटिएका प्रहरी टोलीले बिहीबार साँझ ७ बजे एक युवतीसहित ३ जनालाई १२ ग्राम ७ सय मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा बिर्तामोड बस्ने २१ वर्षीय राजकुमार राजवंशी, इलाम घर भएका १९ वर्षीय समीर महत र काठमाडौँ सिनामंगलकी १८ बर्षीया पूजा शङ्कर रहेकी छिन । मे १ ह २४३० नम्बरको अटो रिक्सामा सवार गरी आएका तिनै जनालाई चेक जाँच गर्ने क्रममा सोही अटोका चालक समेत रहेका राजकुमार राजवंशीको साथबाट १२ ग्राम ब्राउनसुगर, १० पिस ट्याब्लेट, नगद ५९ हजार ६ सय रुपैयाँ र पुजाको साथबाट ७ सय मिलिग्राम ब्राउनसुगर फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ।