काठमाडाैं/ग्यासमा भन्दा विद्युतीय ऊर्जाको प्रयोग गरेर खाना पकाउँदा आर्थिक रूपमा सस्तो पर्ने अनुसन्धानले देखाएको छ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतको ऊर्जा अध्ययन केन्द्रले गरेको अनुसन्धानबाट सो कुराको पुष्टि भएको हो ।

यसका अनुसन्धानकर्ता एवं केन्द्रका प्राडा जगन्नाथ श्रेष्ठले भने, 'एलपी ग्यासभन्दा इन्डक्सन चुलोमा खाना पकाउँदा समय र पैसा कम खर्च हुने देखियो । त्यसैले एलपी ग्यासको प्रयोग कम गर्दै लैजान सकिएमा मुलुकलाई आर्थिक रूपमा फाइदा हुनेछ ।'

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

केन्द्रले यही मङ्सिर ७ गते सो अनुसन्धान गर्दा नमुनाका रूपमा आधा केजी चामल लिएको थियो । त्यसमा आधा लिटर पानी प्रयोग गरिएको थियो । चामल र पानीको तौल २.७९ केजी भएको थियो । उहाँले विद्युतीय चुलो (इन्डक्सन) प्रयोग गर्दा फलाम (स्टिल)को भाडोमा मात्र पाक्न सक्ने भएकाले ग्यास र इन्डक्सन चुलोमा यो अनुसन्धान गर्दा एउटै प्रेसर कुकर प्रयोग गरिएको बताए। कुकरले दुई सिट्टी दिँदा भात पाक्ने सिद्धान्तअनुरूप भात पकाइएको थियो ।

ऊर्जाविद् प्राडा श्रेष्ठले ग्यास चुलोमा भात पकाउँदा ११ मिनेट ११ सेकेन्ड र इन्डक्सनमा पकाउँदा सात मिनेट ४९ सेकेन्ड समय लागेको जानकारी दिए। 'इन्डक्सनमा पकाउँदा झण्डै तीन मिनेट छिटो पाक्ने रहेछ,' उनले भने।

अनुसन्धानका क्रममा एक पटक भात पकाउँदा एलपी ग्यासको ऊर्जा २५ ग्राम खपत हुने र इन्डक्सनमा पकाउँदा शून्य दशमलव १४२ किलोवाट आवर खर्च हुने गरेको पत्ता लगाइएको थियो । ऊर्जा खपतका बारेमा थाहा पाउन विभिन्न उपकरणहरू प्रयोग गरिएको थियो । “ऊर्जा खपतबारे थाहा पाउनका लागि विश्वमा जुन उपकरण प्रयोग गरिन्छन्, हामीले पनि तिनै उपकरणहरू प्रयोग गरेका थियौँ,' उनले भने।

दुई सिट्टीमा भात पाकेपछि खर्च भएको ऊर्जाको गणना गर्दा दुई रुपियाँ ४६ पैसा बराबरको ग्यास र एक रुपियाँ ४२ पैसा बराबरको विद्युत् खर्च भएको पाइएको थियो । सो रकम प्रतिसिलिन्डर एक हजार चार सय रुपियाँको हिसाबका आधारमा निकालिएको थियो । विद्युतीय ऊर्जाको हिसाब १५ एम्पियरको मिटर जडान गरिएको आधारमा १० रुपियाँ प्रतियुनिटको दरले निकालिएको हो । गोरखापत्र दैनिकमा खबर छ ।