काठमाडौं। बाँकेको कोहलपुरस्थित त्रिभुवन माध्यमिक विद्यालयकी विद्यार्थी प्रकृति चन्दलाई आइतबार बिहानै एक मालबाहक ट्रकले ठक्कर दियो। उनी गम्भीर घाइते भएपछि सोही विद्यालयका आक्रोशित विद्यार्थीले सो ट्रकमा आगजानी गरे। दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरे। प्रदर्शनमा विस्तारै स्थानीय पनि मिसिएपछि प्रदर्शनकारीको संख्या बढ्यो। प्रदर्शनकारी कोहलपुरस्थित इलाका प्रहरी कार्यालयमा सुरक्षा र दोषीमाथि कारबाहीको माग गर्दै पुगे।

तर, एक्कासी प्रहरीतर्फ ठूलो संख्यामा प्रदर्शनकारी आएपछि प्रहरीले बल प्रयोग गर्यो। उल्टै प्रहरीले बल प्रयोग गरेपछि विद्यार्थी र स्थानीयहरु प्रहरीमाथि खनिए।

अवस्था प्रहरी र प्रदर्शनकारीबीच भिडन्तको बन्यो। यो घानमा परे कलिला विद्यार्थी। प्रहरीले कलिला विद्यार्थीमाथि निर्घात लाठी चार्ज गरेको छ। प्रहरीले अश्रृ ग्यास हानेको छ। यतिले नपुगेर प्रहरीले गोलीसमेत चलायो। घटनामा दर्जनौ विद्यार्थी र स्थानीय घाइते भएको बाँकेका पत्रकारहरुले बताएका छन्।

तर, सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले भने प्रदर्शनकारी तर्फ १० जनाजति घाइते भएको बताए। डिसी नेपालसँगको फोनमा उनले भने, ‘घाइतेको यकीन संख्या त थाहा भएन, १० जनाजति घाइते भएका होलान। हामी घाइतेलाई उपचारका लागि काठमाडौं पठाउँदै छौं। पाँच जनालाई सेनाको हेलिकोप्टरमाफर्त उपचार गर्न काठमाडौं पठाइएको छ।’

उनले कोहलपुरमा तनाव भएपछि सर्वदलीय बैठकसमेत बोलाइएको जानकारी दिए। उनले सर्वदलीय बैठकमा घाइतेको उपचारका लागि गृहमन्त्रालयलाई लेखि पठाउने, निशेधाज्ञ जारी गर्ने, वातावरणलाई शान्त पार्ने विषयमा निर्णय हुन लागेको जानकारी दिए।

तस्वीर सहयोग : बाँकेबाट पत्रकार खगेन्द्र दाहाल, यो खबर हामीले डिसी नेपाल बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर