काठमाडौं/ सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा तेस्रो पटक सचिवालयको बैठक बस्दैछ ।

कार्यकारीको अख्तियारी पाएपछि भने उनले दोस्रो पटक बैठक बसाउन लागेका हुन् ।दिउँसो १ बजे पार्टी मुख्यालयमा डाकिएको बैठकमा पार्टीको विशेष कार्ययोजना, उप–निर्वाचन समीक्षा, स्थायी र केन्द्रीय कमिटीको बैठक आह्वान आदि विषयमा छलफल हुने नेकपा स्रोतले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

संयोग नै भन्नुपर्छ प्रचण्डले बोलाएका अघिल्ला बैठकमा अनुपस्थित रहेका पहिलो वरियताका अध्यक्ष केपी शर्मा ओली आज पनि बैठकमा उपस्थित हुने छैनन् ।

एपेन्डिसाइटिसको शल्यक्रियापश्चात् बालुवाटारमा आराम गरिरहेका ओलीले मन्त्रिपरिषद् बैठकको अध्यक्षता गर्नेछन्, तर पार्टी सचिवालयको बैठकमा भने अनुपस्थित रहने उनको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री अनुपस्थित रहने भएपछि प्रचण्डले बैठकका एजेन्डाका बारेमा अवगत गराएका छन् । बैठकबारे परामर्श पनि गरेका छन् । “आइतबार बेलुकी ५ बजे दुई अध्यक्षबीच भेटघाट भएको हो । शनिबार बिहान पनि भेट भएको थियो । दुवै भेटमा सचिवालयको बैठकसम्बन्धी छलफल भएको थियो,” प्रधानमन्त्रीको सचिवालयले भन्यो ।

तेस्रोपटक जनपरिचालनको कार्यसूची स्रोतले जनाएअनुसार प्रचण्डले तयार पारेको कार्ययोजनामा अतिरिक्त र नयाँ कार्यक्रम छैनन् । यसअघि नै मुल्तवीमा रहेका कार्यक्रम नै प्रचण्डले कार्ययोजनामा समेटेका छन् ।

स्रोतका अनुसार प्रचण्डले अघि सारेको ५ महिने कार्ययोजनामा एकीकरणका काम टुंग्याउने, स्थायी कमिटी, केन्द्रीय कमिटीको बैठक आह्वान गर्ने र जनपरिचालनका काम अघि बढाउनेलगायतका विषय छन् ।

नेकपाले यसअघि पनि जनपरिचालनबारे निर्णय गरेको थियो । पार्टी एकतालगत्तै २०७५ जेठ १६ गते अन्तर पार्टी निर्देशन (अपानि) जारी गर्दैै भदौ १५ भित्र एकताका सबै काम टुंग्याउने र त्यसपछि जनपरिचालनको काम गर्ने बताएको थियो ।

असोजको पहिलो सातासम्म नेकपाले प्रदेश इन्चार्जमात्रै तोक्न सक्यो । त्यसपछि नेकपाको पुस १३ गते सकिएको स्थायी कमिटीको बैठकले पनि माघसम्म एकताको काम सकेर त्यसपछि जनपरिचालन (राष्ट्रिय अभियान) गर्ने निर्णय गर्‍यो ।

तर, २०७६ को मंसिरसम्म एकताको काम बाँकी रहेपछि अहिले एकता–एकीकरणको काम सकेर यथाशक्य छिटो जनपरिचालनको काम गर्नेगरी प्रचण्डले कार्ययोजना अघि सारेका छन् ।

स्रोतका अनुसार मंसिर मसान्त या पुसको पहिलो साता स्थायी कमिटीको बैठक आह्वान गर्ने र लगत्तै केन्द्रीय कमिटीको बैठक आह्वान गर्ने तयारी प्रचण्डको छ ।

यसका अतिरिक्त आजको बैठकले उपनिर्वाचनको मिहिन र वस्तुनिष्ठ समीक्षा गर्नेसमेत नेताहरूले बताएका छन् ।

त्यस्तै प्रचण्डले पार्टी सदस्यको लगत र लेबी व्यवस्थित सम्बन्धी कार्यसूची पनि योजनामा अटाएका छन् ।बाह्रखरी