झापाको दमक बजार क्षेत्रमा तरकारी तथा फलफूल बजारलाई नमुना तरकारी बजारका रुपमा विकास गराउन स्तरोन्नतिको काम थालिएको छ।
दमक नगरपालिका–६ स्थित नगरपालिकाको स्वमित्वमा रहेको नयाँ तरकारीबजारलाई थप व्यवस्थित बनाउन स्तरोनन्तिका काम थालिएको हो। दमक उद्योग वाणिज्य संघको पहलमा तरकारी व्यवसायी र दमक नगरपालिकाको साझेदारीमा विभिन्न पूर्वाधार निर्माणका काम थालिएको नयाँ तरकारी बजार निर्माण उपभोक्ता समिति अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिएका छन्।
बजारभित्र सोलार जडान गर्ने योजना छ। व्यवसायीको सक्रियतामा तरकारी बजारलाई नमुना बनाउन लागिएको हो। विसं २०६९ देखि नगरपालिकाले स्थानीय तरकारी व्यवसायीको साझेदारीमा कृषि सामग्री संस्थाको अढाई बिगाह जग्गा २१ वर्षका लागि भाडामा लिएर तरकारी बजार सञ्चालन गरेको हो।
दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले पूर्वाधार निर्माणका लागि २४ लाख खर्च हुने बताए। नगरपालिकाको ७५ प्रतिशत र व्यवसायीको २५ प्रतिशत लगानी रहनेछ। वर्षायाममा पानी जम्ने, हिलाम्मे हुने गरेका कारण त्यसलाई व्यवस्थित गर्न थालिएको हो।
अहिले टायल बिच्छ्याउने तथा कर्कटपाता लगाएर घामपानी छल्नेसहितका संरचना निर्माण भइरहेका छन्। सो कार्यका लागि ३१ जना व्यवसायीले १६ लाख लगानी गरिसकेका छन्।
तरकारी बजारमा १ सय ७६ वटा कक्ष छन्। नगरपालिकाले ती सवै कक्षबाट मासिक कर उठाउँदै आएको छ। दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहाल तरकारी बजारको पूर्वाधार निर्माणमा नगरपालिकाले सहयोग गर्दै आएको बताउछन्। उक्त बजारमा स्थानीयदेखि पूर्वी पहाडी भेगका साथै भारतका विभिन्न ठाउँबाट ठूलो परिमाणमा तरकारी आयात गरिँदै आएको छ।










