#

हेर्नुहोस यस्तो छ आजको मौसम

    Saturday, December 14, 2019

काठमाडौं : भूमध्य सागरको वायुको प्रभावले देशभरि नै ठन्डी बढेको छ। न्यूनचापीय प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा हिमपात भएको छ। भूमध्य सागरबाट इरान, अफगानिस्तान, पाकिस्तान र भारतको जम्मुकश्मीर हुँदै पश्चिमी भूभागबाट मौसमी वायु नेपाल भित्रिने गर्छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको शनिबार बिहान ६ बजे निकालेको बुलेटिनमा देशको मध्य र पश्चिमी पहाडी र पूर्वी भू-भागमा सामान्यदेखि पूर्ण बदली रही केहि भूभागमा हल्का वर्षा भइरहेको उल्लेख छ। उच्च पहाडी र हिमाली भू-भागमा हिमपात समेत भएको छ।

बुलेटिनमा भनिएको छ,’ हिमपात हुने हुँदा पश्चिमी उच्च पहाडी तथा हिमाली भु-भागका स्थानहरुमा सतर्कता अपनाउनु हुन अनुरोध गरिन्छ।’ तराईमा बिहानी पख बाक्लो हुस्सु र कुहिरो लागेपनि दिउँसो बिस्तारै हटेर जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हिमपातका कारण हिमाली जिल्लाको जनजीवन कष्टकर भएपनि किसान भने हर्षित भएका छन्। बर्षेनी पर्दै आएको खडेरीका कारण निरास बनेका किसान  यसबर्ष समयमै वर्षासँगै हिउँ परेपछि निकै खुसी भएका छन् । समयमै परेको वर्षाका कारण हिउँदे बाली सप्रिने भएपछि किसानलाई राहात भएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

मंसीर २८ गते (शनिबार)

देशका मध्य र पश्चिमी भू-भागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी भू-भागमा सामान्य बदली रहनेछ। देशका मध्य र पूर्वी भू-भागका केही स्थानहरुमा हल्का वर्षा हुने संभावना छ। उच्च पहाडी सहित हिमाली भू-भागहरुमा हल्कादेखि मध्यम हिमपात हुने संभावना छ।

मंसीर २९ गते (आइतबार)

देशको पश्चिमी भु-भागमा सामान्य बदली र मध्य तथा पूर्वका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी थोरै स्थानहरुमा हल्का वर्षा हुने संभावना छ। हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने संभावना छ।

मंसीर ३० गते (सोमबार)

दिउँसो: देशको केहि पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अधिकांश भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

फेसबुकमा तपाईको प्रतिक्रिया

फेसबुकमा तपाईको प्रतिक्रिया

Loading...

सवाल नेपाल टिभी