धनुषामा भएको शक्तिशाली बम बिस्फोटनमा परेर प्रहरी निरीक्षक सहित तीन जनाको मृत्यु भएको घटनामा ‘विप्लव’ समुहको हात हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ स्थित राजेश साहको घरको गेटमा बम झुन्ड्याउने ब्यक्ति नेत्र चन्द विप्लव समुहमा आबद्ध भएका व्यक्ति संलग्न हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

सोही आशंकामा महेन्द्रनगर घर भएका तथा विप्लव समुहमा आबद्ध रहेका एक जना व्यक्तिलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याईएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी स्रोतका अनुसार मृतक राजेशले ब्याजमा रुपैयाँ पैसाको लगानी गर्ने गर्थे । जस मध्ये विप्लव समुहमा लागेका व्यक्तिहरुलाई समेत उनले लेनदेन गर्ने गरेका थिए ।

विप्लव समुहमा लागेको मानिसलाई दिएको रुपैयाँ असुली गर्नका लागि ताकेता गर्दै बढी नै दबाब दिएको हुन सक्ने तथा सोही रिसिवीका कारण बम उनको घरमा झुन्ड्याएको हुन सक्ने कोण बाट अनुसन्धान समेत थालिएको अनुसन्धानमा संलग्न ती प्रहरीले लोकान्तरलाई जानकारी दिएका छन् ।

‘अहिले सम्म प्राप्त भएको जानकारी अनुसार मृतक राजेशले ३० लाख रुपैयाँ भन्दा बढी जति ब्याजमा लगानी गरेका कुरा जानकारीमा आएको छ,’ ती प्रहरी स्रोतले भने, ‘पैसा लेनदेन नै हो वा अन्य कारण पनि हो भन्ने बारे समेत बिभिन्न कोणबाट अनुसन्धान थालिएको छ ।’

प्रारम्भिक अनुसन्धान मात्र शुरु भएकाले कसले र किन बम राखेको हो भन्ने कुरा अहिले नखुलेको जिल्ला प्रहरी कार्यालय धनुषाका निमित्त कार्यालय प्रमुख समेत रहेका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए । घटनाको सुक्ष्म तरिकाले हरेको कोण बाट अनुसन्धान गर्नका लागि डिएसपी कार्की आफैं घटनास्थल महेन्द्रनगरमा खटिएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक शेखर खनाल बिदामा छन् ।

शुक्रवार राति भएको बम बिस्फोटनमा परेर इलाका अप्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर कुमार दाहाल, स्थानीय नागरिक राजेश साह र उनका छोरा आनन्द साहको मृत्यु भएको छ भने अन्य ४ जना घाईते भएका छन् । लोकान्तर बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय