काठमाडौं, २९ मंसिर । तीन–तीन महिनामा बस्नु पर्ने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी वैठक आज (आइतबार) एक वर्षपछि बस्ने भएको छ ।

पार्टी विधानअनुसार तीन–तीन महिनामा बस्नु पर्ने स्थायी कमिटी वैठक विभिन्न कारणले पछि धलेलिंदै आएको थियो । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कार्यकारी अधिकार प्राप्त गरेसँगै पार्टीका गतिविधिहरुले पुनः गति पाएको हो । यसअघि पार्टीका हरेक निर्णय सचिवालयले मात्र गर्दै आएको थियो । गत मंसिर २३ मा बसेको नेकपा सचिवालयले २९ गतेका लागि स्थायी कमिटी बैठक बस्ने निर्णय गरेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आज बस्ने स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले ६ महिने कार्ययोजना तथा राजनीतिक प्रतिवेदन पेश गर्नेछन् । अध्यक्ष प्रचण्डले आफूले तयार पारेको राजनीतिक प्रतिवेदनका विषयमा शनिबार अर्का अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका थिए ।

त्यस्तै, बैठकले सचिवालयले गर्दै आएका संगठनात्मक निर्णयहरुलाई अनुमोदन गर्नेछ । बैठकले वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउने गरी सचिवालयले गरेको निर्णयलाई पनि अनुमोदन गर्नेछ । स्थायी समिति बैठकमा सचिवालय विस्तारको विषयमा पनि छलफल हुने बताइएको छ ।

स्थायी कमिटीअघि सचिवालय बैठक बसेर स्थायी कमिटी बैठकमा छलफलका लागि लैजाने एजेण्डा तय गर्नेछ । बिहान ९ बजे सचिवालय बैठक बोलाइएको छ भने दिउँसो १ बजेदेखि स्थायी कमिटी बैठक बस्नेछ ।