(पार्थ मण्डल) भद्रपुर । झापाको बिर्तामोडमा आयोजित एनसेल मेला परिसरमा शङ्कास्पद कालो झोलाले नेपाल प्रहरी र नेपाली सेनालाई तीन घण्टा हैरानी वेहर्नु पर्यो । एनसेल मेलाको प्रवेशद्वारमै एउटा कालो झोला बेवारिसे अवस्थामा फेला परेपछि नेपाल प्रहरीसँगै नेपाली सेनाले करिब तीन घण्टा सो क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाउन बाध्य भए । बम रहेको आशङ्कामा प्रहरीले सुरक्षा सतर्कता अपनाएपछि मेलामा आउने अवलोकनकर्ता र दर्शक घण्टौँ त्रासमा मनोरञ्जन लिएका थिए । तर, मेला परिसरमा फेला परेको कालो झोलामा बम नभई कुनै व्यक्तिको निजी झोला भएको प्रमाणित भएपछि प्रहरी र सेना छक्क परे । इलाका प्रहरी कार्यालय अनारमनिका प्रहरी नायव उपरीक्षक मोहन थापाका अनुसार एनसेल मेला परिसरमा भेटिएको कालो झोलाले प्रहरी नभई सेनालाई पनि झुक्काएर हैरानी दिए । दिउँसो १२ बजेको समयमा मेला परिसरमा शङ्कास्पद एउटा कालो झोला बेवारिसे अवस्थामा रहेको भन्दै खबर गरेपछि इलाका प्रहरी कार्यालयको प्रहरी टोली तत्काल घटनास्थल पुग्यो, प्रहरी नायव उपरीक्षक थापाले भने, शङ्कास्पद वस्तु प्रहरीले देखेपछि चाराआलीस्थित नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गर्यौ ।

खबर गरेपछि सेनाको टोली आयो, सेनाले झोलालाई सुरक्षित स्थान तर्फ लगेर झोलामा हेर्दा बिग्रिएको डाइनामो र कागजात फेला परेपछि हामी छक्क पर्यौ, उनले भने । करिब ३ घण्टा तनावमा बित्यो, प्रहरीले हैरानी भोग्नु पर्यो, उनले थपे । उनका अनुसार सो झोला लिएर हामी इलाका फर्किएऔ, करिब साढे ४ बजे बिर्तामोड २ बस्ने टङ्क थापा झोला लिन इलाका आइपुगे । थापा झोला लिन आएपछि हामीले घटनाको यथार्थ घटना थाहा पाएऔं । पेसामा ट्रयाक्टर चालक रहेका थापा बिग्रिएको डाइनामो राखेको झोला लिएर करिब साढे ११ बजे मेला हेर्न पुगे । थापालाई गेटमा खटिएका सुरक्षा गार्डले झोलामा फलाम रहेकोले बाहिर राखेर आउनुहोस् भने ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

थापाले सो झोला गेटमै बाहिर राखेर भित्र गए र डियुटीमा खटिएका सुरक्षा गार्डलाई हेरिदिन पनि उनले आग्रह गरे, तर हाएर भने हामी जिम्मेबारी लिदैनौ, सुरक्षा गार्डले उत्तर फर्काए । त्यस अवधिमा गेटमा खटिएका सुरक्षा गार्डको डियुटी चेन्ज भई अर्को सुरक्षा गार्डको टोली खटिए । नयाँ टोलीलाई झोलाको घटनाको बारेमा केही थाहा थिए । एकछिन पछि डियुटीका सुरक्षा गार्डले शङ्कास्पद कालो झोला बेवारिसे अवस्थामा देखेपछि होहल्ला गर्दा घटनाले अर्को रूप लिएको प्रहरी नायव उपरीक्षक थापाले घटना सुनाए । झोला लिन आएका थापालाई सोधपुछ गरेर बेलुका ६ बजे छाडेको उनको भनाई छ ।