अजित सिंह भनिने अजय यादवले नेतृत्व गरेको अखिल तराई मुक्ति मोर्चा (अजित सिंह समूह) नेकपा (एमाले) मा विलय भएको छ ।सप्तरीको लालापट्टी गाउँमा हालै भएको पार्टी प्रवेश कार्यक्रममा सिंहसहित सिङ्गो मोर्चा एमालेमा विलय भएको घोषणा भएको नेकपा (एमाले) सप्तरीका मनोहर पोखरेलले सोमबार जानकारी दिनुभयो । एमाले स्थायी कमिटी सदस्य रामप्रीत पासवानले उहाँहरुलाई अबिर र माला लगाई पार्टी प्रवेश गराउनुभएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा मोर्चाका केन्द्रीय सदस्यहरु छेदी राम, अशोक यादव, देवराज यादव, छोटुबाबु, देवकुमार यादव, मोरङका इन्चार्ज महेन्द्र मुखिया, सुनसरीका अध्यक्ष देवराज यादव, राजविराज नगर इन्चार्ज विनोदकुमार दास, सप्तरी जिल्ला सदस्यहरु मनोज मुखिया, परमानन्द यादव, भूपेन्द्र यादव, प्रमोद यादव, श्रवण कामतलगायतकाले पार्टी प्रवेश गरे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सिंहले आफ्ना सबै हतियार सरकारलाई बुझाएपछि दुई वर्षदेखि स्वतन्त्र जीवन बिताइरहेका थिए । पार्टी प्रवेश गराउँदै एमाले नेता पासवानले स्थानीय निर्वाचन नहुन्जेल केन्द्रमा रहेको अधिकार जनतामा नपुग्ने भएकाले सबैलाई निर्वाचनमा जुट्न आग्रह गर्नुभयो ।

कार्यक्रममा एमाले जिल्ला सदस्यहरु जयप्रकाश ठाकुर, विनोद यादव, अशोक यादवलगायतको उपस्थिति थियो ।