काठमाडौं/ संसद सचिवालयमा कार्यरत कर्मचारीलाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दा उच्च अदालतमा सुनुवाइ हुँदै छ।

उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र टेकनारायण कुँवरको इजलासमा पेसी रहेको छ। यसअघि उच्चले जिल्ला अदालतको आदेश मगाउने निर्णय गरेको थियो। बिहीबारको सुनुवाइमा उच्चले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय सदर गर्ने बा बदर गर्ने निर्णय गर्ने छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उच्चले जिल्ला अदालतको फैसला उल्ट्यायो भने उनी थुनामुक्त हुने छन्। उच्चले जिल्लाकै आदेश सदर गरेमा उनी थुनामै रहनुपर्ने हुन्छ। उच्चको उक्त आदेशविरुद्ध महरा सर्वाेच्च भने जान पाउने छन्।

त्यस्तै जिल्ला अदालतमा पनि उनको बकपत्र चलिरहेको छ। सोमबारदेखि जिल्ला अदालत काठमाडौंमा बकपत्रका लागि उपस्थित गराएको थियो।

न्यायाधीश अम्बिरराज पौडेलको इजलासमा महराको बकपत्र भइरहेको छ। जिल्ला अदालत काठमाडौंका जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको इजलासले जबर्जस्ती करणी उद्योगमा उनलाई मंसिर ६ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो। जिल्ला अदालतको आदेशले उनी डिल्लीबजार कारागारमा बसिरहेका छन्।

बलात्कार प्रयासको आरोप लागेपछि उनलाई गत असोज १९ मा पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको थियो। नेपाल लाइभ