नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई विधिसम्मत चलाउन नसकेको भन्दै पार्टी नेतृत्वको कडा आलोचना गरेका छन् ।
उनले सरकारले महत्वपूर्ण काम गरेपनि जनताको मन जित्न नसकेको टिप्पणी गरे ।
अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को राजनीतिक प्रतिवेदनमाथि बिहीवार आफ्नो भनाइ राख्दै नेता नेपालले नेतृत्वको कडा आलोचना गरेका हुन् ।
‘पार्टीलाई विधि र पद्धतिमा चलाउने काम भएन, मनपरेका व्यक्तिलाई जिम्मेवारी दिने तर सक्षम र इमान्दार कार्यकर्तालाई भेदभाव गर्ने गरिएको छ’ नेता नेपालको भनाइ उदृद्ध गर्दै स्रोतले भन्यो, ‘मापदण्ड बनाएर काम गरेको भए पार्टी एकीकरणको काम तीन महिनामा सम्पन्न भइसक्थ्यो ।’
पार्टी सामूहिक नेतृत्वमा चल्नु पर्नेमा व्यक्ति केन्द्रीत भएको भन्दै उनले नेतृत्वको आलोचना गरे । ‘व्यक्ति टिप्ने र आफ्ना मान्छेलाई मात्र जिम्मेवारी दिने निर्णयले गर्दा पार्टीमा अन्तरविरोध बढेर गएको छ । यसले पार्टीलाई क्षति गरेको छ’ बैठकमा नेता नेपाल कड्किए, ‘मापदण्ड बनाएर काम गर्ने हो भने पोलिटब्यूरो गठन गर्न समस्या छैन ।’
सरकारले जनताको मन जित्न सकेन
नेता नेपालले सरकारले ठूला कुरा गरेपनि जनताको मन जित्न नसकेको आरोप लगाए । ‘सरकारले केही दीर्घकालीन महत्वका काम गरेको छ तर जनताको मन जित्न सकेको छैन’ नेता नेपालले भने, ‘जनताको मन जित्न जनताको मन छुने काम गर्नुपर्यो ।’
दीर्घकालीन महत्वका कार्यक्रमका साथसाथै जनताका ततलीन आवस्यकता पूरा गर्ने र जनताको मन जित्ने काम गर्न उनले ध्यानाकर्षण गराए । ‘सरकारको कामबाट जनता किन खुसी छैनन भन्ने कुराको समीक्षा गरेर उनीहरुको मन जित्ने काम गरेमात्र पार्टीप्रतिको आकर्षण बढ्छ’ नेता नेपालले बैठकमा भने ।
बिहीवारको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र रामबहादुर थापा 'बादल' लगायतले पनि धारणा राखेका थिए । प्रचण्डको प्रतिवेदनमाथि अब महासचिव विष्णु पौडेलले मात्र बोल्न बाँकी छ ।
शुक्रवार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच छलफल गरेर शनिवार बिहान ११ बजे स्थायी समिति बैठक बस्ने प्रवक्ता नारायिणकाजी श्रेष्ठले जानकारी दिए । शनिवारको बैठकमा प्रचण्डले जवाफ दिने कार्यक्रम छ ।










