काँकडभिट्टा । भारतीय लटरी (चिट्ठा) बेचिरहेका भारत पानीटंकीका ४५ वर्षीय राजन प्रधानलाई गत सोमवार प्रहरीले काँकडभिट्टाको सुधार चोकबाट पक्राउ गर्‍यो ।

दरभंगा घर भई काँकडभिट्टामा सैलुन चलाउने ६३ वर्षीय भगवान ठाकुर पनि पक्राउ परे । उनीहरूको साथबाट ४।४ हजार मूल्य बराबरका लटरी समेत बरामद भयो । उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । गत वर्ष पनि सशस्त्र प्रहरीको भन्सार राजश्व गुल्म काँकडभिट्टाको टोलीले दुई युवालाई यसैगरी पक्राउ गरेको थियो । ती युवाहरू भारतमा लटरी खरिद गरेर झापाको झिलझिले जाँदै थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

झापाको सीमावर्ती क्षेत्रका बासिन्दा भारतीय लटरी (भाग्य चिट्ठा) का कारण ठगिँदै आएका छन् । ‘यसको लतमा धेरै नेपाली फँसिरहेका छन्’, इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी गोविन्दकुमार कार्की भन्छन्, ‘सितैं पैसा पाइएला भनेर लटरीको लतमा सर्वसाधारण यसरी फँसिरहेको छन् कि उनीहरूलाई लतबाट उम्कन गारो भइरहेको छ ।’

भारतको पानीटंकीमा खरिद गरिएका लटरी दमकसम्म पुर्‍याएर नेपालीलाई बिक्री गरिन्छ । नेपाली दलालहरूले दोब्बर मूल्यमा लटरी बिक्री गरिरहेका छन् । यहाँ वर्षौंदेखि खुलेआम रुपमा लटरी अवैध धन्दा जारी छ ।

के हो लटरी ? भारतमा लटरीलाई सरकारले वैधानिकता प्रदान गरेको छ । मिजोरम, नागाल्याण्ड, सिक्किम आदि भारतीय राज्य र भुटानमा समेत यो सञ्चालन छ ।

दिनमा तीनपटक लटरी खुलाइन्छ । प्रत्येक दिन बिहान ११, अपराह्न ४ बजे र राति ८ बजे खुल्ने लटरीको परिणाम पनि त्यसै दिन इन्टरनेटमार्फत सार्वजनिक हुन्छ । लटरी बिक्रीका लागि भारतको पानीटंकी, बतासी, नक्सलवारी र बागडुग्रा क्षेत्रबाट भारतीय बिक्रेता यता आउँछन् । नेपालमा चिठ्ठा बेच्न पाइँदैन । तर बिक्रीकै लागि आधा दर्जन जति दलालहरू परिचालित छन् । एउटा दलालले दैनिक लाखौ रुपैयाँ लिएर जान्छन् । दलालहरूले नियमित ग्राहकलाई ‘होम डेलिभरी’ को सुविधा पनि दिन्छन् ।

भारतसँग खुला सीमा जोडिएका काँकडभिट्टा र भद्रपुरसहित धुलाबारी र विर्तामोडसम्मका बासिन्दा लटरीको लतमा फँसेका छन् । लटरीको टिकट कटाउने समुह ठेली बोकेर भारतबाट खुलेआम आउँछन् । दलालहरूले लाखौ रुपैयाँ जित्ने भन्दै झूटो आश्वासन दिएर सर्वसाधारणलाई प्रभावमा पार्ने गर्छन् । लटरी टिकटको मूल्य न्यूनतम भारु ५० देखि अधिकतम चार सयसम्म पर्छ । आक्कलझुक्कल कसै कसैले थोरै रकम जितेको कुरालाई पनि दलालहरूले लटरी बिक्री गर्ने आधार मान्छन् ।

चिट्ठा बेच्दै गर्दा काँकडभिट्टामा भेटिएका एक दलालले दैनिक हजारौको टिकट बेच्ने गरेको सुनाए । ‘म मात्रै दिनमा १० हजार बढीको बिक्री गर्छु’, उनले भने, ‘अरूले त अझ बढी बेच्छन् । ’

कम्तीमा १ हजार भारुदेखि ५१ लाख भारुसम्म नगद जितिने लोभमा व्यवसायी, विभिन्न कार्यालयका कर्मचारी तथा सर्वसाधारण भारतीय लटरीको लतमा नमज्जाले फसेका छन् । यसरी नै सर्वसाधारण नराम्रोसँग ठगिरहेका छन् । कतिपय त भारतीय वजार पुगेर आफ्ना लागि लटरी काट्छन् । बिक्रीका लागि पनि लिएर आउँछन् ।

सीमा बजारहरूमा भारतीय र भुटानी लटरीको अवैध धन्धा हुन्छ भन्ने हेक्का प्रहरीलाई छ । त्यही भएर प्रहरीले लटरी व्यापारीलाई धमाधम पक्राउ गर्न थालेको डीएसपी कार्कीले बताए । ‘बेच्नेलाई मात्रै हैन अब चिट्ठा खेल्नेहरूलाई पनि हामी छाड्दैनौ’, उनले भने । चिट्ठा ऐन २०२५ अनुसार नेपालमा प्रतिबन्ध लगाइएको चिठ्ठा बिक्री वितरण गर्न मिल्दैन । कसैले यो ऐनको बर्खिलाप कुनै काम गरेमा बिगो जफत भई बिगोबमोजिम जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । कान्तिपुर दैनिकबाट साभार