#

दुनियाँ विश्वासमा चल्छ, तर म यसरी ठगिएँ

  पत्रपत्रिका   २०७६ पुष ५, शनिबार १५:५७ मा प्रकासित

विष्णुबहादुर खड्का, गोकुलगंगा गाउँपालिका,रामेछाप ।
काठमाण्डौ – कसैलाई विश्वास गरिएन भने काम पनि पाइँदैन । काम पाइएन भने घरपरिवार कसरी चलाउने ? त्यसैले त भन्छन्, दुनियाँ विश्वासमा अडिएको हुन्छ भनेर । मैले पनि राम्रो काम पाइने आशमा म्यानपावरलाई विश्वास गरेँ । तर म्यानपावरलाई विश्वास गर्न नहुने रहेछ ।

आफू त सोझो मान्छे परियो । विश्वासकै भरमा दुईपटक वैदेशिक रोजगारीमा गइसकेको म यसपालि भने नराम्ररी पछारिएँ ।

सन २०१० मा म पहिलोपटक वैदेशिक रोजगारीको लागि कतार गएँ । साथीले उतैबाट भिसा पठाइदिएको थियो । मलाई एक्जाभेटर चलाउन आउँथ्यो । हेल्परको काम गर्दागर्दै एक्जाभेटर चलाउन सिकेको थिएँ । लाइसेन्स पनि थियो । म त्यतिबेला सजिलै कतार गएँ । कसैले नि ठगेन । तर कमाइ खासै थिएन । कतारी रियाल १ हजार थियो । ओभर टाइम नहुने र बेसिक कमाइ मात्र हुने भएकाले म त्यहाँ धेरै बसिनँ ।

त्यहाँ तीन वर्ष काम गरेर म घर फर्किएँ । नेपाल फर्केर एक वर्ष जति घरमा त्यत्तिकै बसिरहेको थिएँ । साउदीमा एक्जाभेटरको काम छ भन्ने खबर पाएँ । मेरो दाइ नाता पर्ने एकजना म्यानपावरमा काम गर्नुहुन्थ्यो । उहाँले नै ‘साउदी अरबबाट एक्जाभेटर कामकै लागि माग छ, जाने भए अन्तरवार्ता दिन आउ’ भन्नुभयो ।

अन्तरवार्ता दिन म गाउँबाट काठमाण्डौ आएँ । अन्तरवार्तामा पास भएर म साउदी गएँ । त्यतिबेला म्यानपावरलाई ९० हजार रुपैयाँ तिरेँ । कुनै दौडधुप गर्नुपरेन । पटक–पटक म्यानपावर पनि धाउनु परेन । साउदी पनि म सजिलै गएँ । त्यहाँ तीन वर्ष बसेँ । कमाइ १२ सय साउदी रियाल थियो । ओभरटाइम गरेर दोब्बर हुन्थ्यो । केसीसी भन्ने कोरियन कम्पनीमा सीभीलको काम गर्नुपथ्र्यो थियो । काम एकमदै राम्रो र सजिलो थियो ।

तर त्यहाँ काम गर्न थालेको तीन वर्षपछि स्वास्थ्यमा गडबड हुन थाल्यो । धेरै काममा खटिएकाले पनि हुनसक्छ । ज्वरो आइरहने, कमजोरी महसुस हुने जस्तो हुन थाल्यो । सञ्चो नहुँदा कम्पनीमा बिदा लिइराख्नुपथ्र्यो । त्यसपछि कम्पनीले नै इमर्जेन्सी भनेर आफैंले टिकट काटेर मलाई नेपाल पठाइदियो । ४२ महिना साउदी बसेर म नेपाल आएँ ।

अहिलेसम्म त विदेश जाँदा ठगिएको थिइनँ । कसरी ठगिन्छ भन्ने अनुभव नै थिएन । जति पटक गएँ, सजिलै गएँ, सजिलै फर्केँ । तर यसपटक भने धोका भयो ।

यसरी भयो धोका
अढाइ वर्ष जति भयो म नेपाल फर्केको । घर आएपछि गाउँमै एक्जाभेटर चलाउने काम गर्न थालेँ । यस्तैमा एकदिन गाउँकै एकजना साथीले माल्टामा एक्जाभेटर चलाउने काम छ भन्ने ग्लोबल एलाईन्स सर्भिसेज प्रालिले छापेको विज्ञापन मेरो फेसबुकमा पठायो ।

विज्ञापनमा भएको फोन नम्बरमा मैले सम्पर्क गरेँ । काठमाण्डौ आउनुस् अन्तर्वार्ता हुन्छ, त्यो पास भएपछि जान पाइन्छ नत्र पाइन्न भन्यो । म काठमाण्डौ आएँ । सामाखुसीमा रहेको ग्लोबल एलाईन्स सर्भिसेज प्रालि भन्ने म्यानपावरमा पुगेँ । त्यहाँ दिपकुमार अधिकारी भन्ने व्यक्ति थिए । उनले मेरो आफ्नै म्यानपावर हो भनेका थिए ।

माल्टा जान ९ लाख रुपैयाँ लाग्छ र कमाइ एकलाख रपैयाँ हुन्छ भनेको थियो । युरोपियन देश त्यसैमाथि राम्रो कमाइ भएकोले ९ लाख रुपैयाँ दिन म तयार थिएँ । दुई दिनमै अन्तर्वार्ता भयो, अन्तर्वार्ता लिने भारतीय नागरिक थिए । अनर्वार्तामा पास भएँ । अन्तर्वार्ता पास भएकै पछिल्लो दिन ९० हजार रुपैयाँ माग्यो । मैले आईएमई गरेर ९० हजार रुपैयाँ पठाइदिएँ । तर त्यसमा वैदेशिक रोजगारी भनेर खुलाएको थिइनँ ।

१५ दिनमै भिसा आउँछ भनेको थियो । महिना दिनसम्म पनि भिसा आएन । भोलि भोलि भन्दै तीन महिना बितिसक्यो, तर भिसा आएन । त्यसपछि त दिपकुमार अधिकारीको फोनमा सम्पर्क नै हुन छाड्यो । साथीहरुलाई भनेर बुझ्न लगाएँ, त्यो मान्छे पनि काठमाण्डौमा छैन र म्यानपावर पनि बन्द भइसक्यो भन्ने जानकारी दियो ।

अनि म आफैं घरबाट काठमाण्डौ आएँ । म्यानपावर बन्द थियो । वैदेशिक रोजगार विभागमा आएर बुझ्दा म्यानपावर निष्कृय अवस्थामा रहेको र म्यानपावर पनि दिलिपकुमारको नाममा नभएर मनिष सुब्बा र देउप्रकाश लिम्बुको नाउँमा रहेको भन्ने बुझियो । अहिले कोही पनि फोन सम्पर्कमा छैनन् ।

दिलिपकुमार साउदीतिर छ भन्ने सुनिन्छ । विभागले पनि वैदेशिक रोजगारीको लागि पैसा दिएको भन्ने कुनै प्रमाण नभएकाले व्यक्तिगत मुद्दा दर्ता गर भन्छ । के गर्ने कसो गर्ने म त अन्यौलमा पो परेँ । सोझो बनेर कसैलाई विश्वास गरे त गरिखानै नदिने पो रहेछन् । उज्यालो अनलाइन बाट साभार गरिएको

फेसबुकमा तपाईको प्रतिक्रिया

Loading...

सवाल नेपाल टिभी

सम्बन्धित शीर्षकहरु