पहिलो चरणको स्थानीय निर्वाचनको मतगणना दोश्रो चरणको निर्वाचनअघि नै हुने भएको छ । निर्वाचन आयोगले पहिलो चरणको निर्वाचनको मतगणना निर्वाचनलगत्तै हुने बताएको हो । ३१ वैशाखमा हुने पहिलो चरणको निर्वाचनको मनोनयन पत्र दर्ता भएलगत्तै आयोगले मतगणनाका लागि अर्को चरणको निर्वाचनसम्म नकुर्ने स्पष्ट गरेको हो ।
‘पहिलो चरणको निर्वाचन सम्पन्न भएलगत्तै मतगणना सुरु हुन्छ’, आयोग प्रवक्ता सूर्यप्रसाद सापकोटाले भने, ‘अर्को चरणको निर्वाचनसम्म कुर्ने कुरा हुँदैन ।’ दोश्रो चरणको निर्वाचन एक महिनापछि जेठ ३१ मा हुने भएकाले निर्वाचन नियमावलीअनुसार अर्को निर्वाचनसम्म कुर्न नमिल्ने उनले स्पष्ट गरे । यद्यपि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने दलहरुबीच सहमति कायम गरी दोश्रो चरणको निर्वाचनसम्म मतपत्र सुरक्षित राख्न र एकैपटक गण्ना गर्न आग्रह गर्ने बताएका थिए ।



